ग्लोबल आइएमईको ‘मेरी उनीलाई’ खाता परिमार्जित

काठमाडौं  । ग्लोबल आइएमई बैंकले नयाँ विशेषताका साथ ‘मेरी उनीलाई’ मुद्दती खाता योजना ल्याएको छ । हाल कायम ‘मेरी उनीलाई’ मुद्दती खाता परिमार्जन गरी बैंकले उक्त योजना सञ्चालनमा ल्याएको हो । योजनाअन्तर्गत महिलाको नाममा बचत गर्न वा बचत गर्ने बानी बसाल्न, व्यक्तिगत खातामा महिलालाई राम्रो प्रतिफल दिन र महिलालाई आर्थिक रूपमा सशक्त बनाउन अझ बढी टेवा पुग्ने बैंकले बताएको छ । न्यूनतम २ लाख रुपैयाँ मौज्दातमा खोल्न सकिने सो खातामा आकर्षक ब्याज प्राप्त हुनेछ । ६ महीनादेखि २ वर्षसम्मका लागि उक्त खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ । यो योजनामा ५० हजार रुपैयाँभन्दा माथिको रकम आवश्यकता अनुसार म्याद पुग्न ३ महीना अघिसम्म थप गर्दै जान सकिने व्यवस्था रहेको छ । उक्त खातासँगै बैंकले निक्षेपकर्ताको ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, २ लाख रुपैयाँसम्मको गम्भीर रोग बीमा र १ लाख रुपैयाँसम्मको औषधि उपचार बीमा समेत उपलब्ध गराउनेछ । योजनाअन्तर्गत खाता खोल्ने ग्राहकलाई नि:शुल्क डेबिट कार्ड (पहिलो वर्ष), लकर शुल्कमा शतप्रतिशत छूट (पहिलो वर्ष) र नि:शुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा (पहिलो वर्ष) उपलब्ध गराइनेछ । बैंकले साविक बचतको ९० प्रतिशतसम्म ऋण सुविधा समेत उपलब्ध गराउनेछ ।