राधी विद्युत् कम्पनीको ३६.५०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

असार १४, काठमाडौं । राधी विद्युत् कम्पनीले प्रस्ताव गरेको ३६ दशमलव ५० प्रतिशत लाभांश सुरक्षित गर्ने आज (सोमवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले प्रस्तावित बोनस शेयर पारित गर्नका लागि असार २९ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले मंगलवारदेखि बुक क्लोज गर्ने भएकाले आजसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।  कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ । सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांश वितरण र हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नेछ ।  विगतका वर्षहरुमा १० दशमलव ६० प्रतिशतसम्म लाभांश वितरण गरेको यस कम्पनीले यो वर्ष भने हालसम्मकै उच्च ३६ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीले बोनस पश्चात कायम चुक्तापूँजकिो आधारमा १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर विक्री गर्ने प्रस्ताव पनि गरेको छ । कम्पनीको जेठ १६ गतेको सञ्चालक समितिको बैठकले १ बराबर १ दशमलव ४७ को अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद विक्री गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ४७ करोड ३५ लाख ५६ हजार ५०० रहेको छ । सो पूँजीको आधारमा ३६ दशमलव ५० प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार कायम हुनेछ ।