रासायनिक मल कारखाना खोल्नका लागि 'डेडिकेटेड हाइड्रोपावर' दिन सकिन्छ : ऊर्जा मन्त्री

माघ २४, काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले नेपालमै रासायनिक मल कारखाना खोल्न जलविद्युत उपलव्धताका लागि छलफल शुरु गरेकी छिन् । सोमबार ऊर्जा मन्त्रालयमा आयोजित छलफलमा कृषि तथा पशुपंछी विकास मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, ग्रीन हाइड्रोजन ल्यावका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको छ ।  लगानी बोर्डले ग्यासबाट रासायनिक मल कारखाना खोल्ने विषयमा अध्ययन गरेपछि विद्युत प्राधिकरणले जलविद्युतबाटै रासायनिक मल कारखाना खोल्नुपर्ने बताउँदै आएको छ । नेपालमा विद्युत उत्पादन बढी भइ खेर गइरहेको अवस्थामा ग्यासबाट रासायनिक मल कारखाना खोल्ने विषय सान्दर्भिक नहुने सरोकारवालले बताउँदै आएका छन् । नेपालमा हरेक वर्ष रासायनिक मलको चरम अभाव हुने गरेको छ । समयमै मल नपाउँदा कृषिको उत्पादकत्व समेत बढ्न नसकेको भन्दै नेापलमै कारखाना खोल्नुपर्ने विषय लामो समयदेखि उठ्दै आएको छ । नेपालले वार्षिक ५/६ अर्ब रुपैयाँ भन्दा बढी रकम रसायनिक मल आयातमा खर्च गर्दै आएको छ । तर समयमै मल नपाउँदा किसानले भने सत्रै सास्ती भोग्दै आएका छन् । ऊर्जा मन्त्री भुसालले नेपालमै रासायनिक मल कारखाना खोल्नको लागि डेडिकेटेड जलविद्युत आयोजना नै दिन सकिने बताएकी छिन् । मल कारखानाका लागि सस्तो दरमा बिजुली दिन सकिने र कारखानाकै लागि भनेर एउटा जलविद्युत आयोजना नै छुट्याउन सकिने भुसालको भनाई छ ।