हवाई यात्रु संख्यामा वृद्धि

काठमाडौं । सन् २०२३ मा आन्तरिक र अन्तरराष्ट्रिय गन्तव्यमा उडान गर्ने यात्रुको संख्यामा वृद्धि देखिएको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा आन्तरिकतर्फ उडान गर्ने यात्रुको संख्यामा ३७ दशमलव ४८ प्रतिशत र अन्तरराष्ट्रियतर्फ ४१ दशमलव शून्य ४ प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ को नोभेम्बरसम्ममा अर्थात् ११ महीनामा ७७ लाख ९४ हजार २१७ यात्रुले आन्तरिक उडान गरेका छन् । यही अवधिमा अन्तरराष्ट्रियतर्फ ४१ लाख ५४ हजार ३९३ यात्रुले उडान गरेका छन् । कोरोना महामारीअघिको वर्ष सन् २०१९ मा अन्तरराष्ट्रियतर्फ ४१ लाख ३८ हजार ४८२ यात्रुले उडान गरेका थिए । प्राधिकरणको तथ्यांकअनुसार नेपालबाट अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले विभिन्न १६ देशका ३३ ओटा अन्तरराष्ट्रिय गन्तव्यमा नियमित उडान गर्दै आएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, गौतमबुद्ध, पोखरा अन्तरराष्ट्रिय विमानस्थलमार्फत आवागमन गर्ने यात्रुको संख्या बढेको हो ।  यसैगरी आन्तरिकतर्फ २१ ओटा वायुसेवा कम्पनीले सञ्चालन अनुमति प्राप्त गरे पनि १९ ओटा कम्पनीले नियमित उडान गर्दै आएका छन् । यस्तै कुल ५५ ओटा विमानस्थलमध्ये ३५ ओटा विमानस्थल सञ्चालनमा छन् । सन् २०१९ देखि २०२१ सम्म भने कोरोना भाइरसका कारण सुस्त भएको उड्डयन क्षेत्र सन् २०२२ देखि लयमा फर्किन थालेको देखिएको छ ।