संघीयताले नेपालको सार्वजनिक खर्च बढ्यो : विश्व बैंक

काठमाडौं । संघीयताका कारण नेपालको सार्वजनिक खर्च पछिल्लो समय बढेको विश्व बैंकले बताएको छ । सार्वजनिक खर्चको समीक्षाबारे सोमवार विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा संघीयताका कारण जनताको घरदैलोसम्म सेवा पुगे पनि सार्वजनिक खर्च भने उल्लेखनीय रूपमा बढेको उल्लेख छ । ‘मुलुक संघीयतामा गएपछि खर्चको दायित्व पनि प्रदेश तथा स्थानीय सरकारहरूमा हस्तान्तरण भएको तथा अन्तरसरकारी हस्तान्तरण र राजस्व बाँडफाँटको माध्यमबाट यस्तो लगानी हस्तान्तरण भएको छ । वार्षिक बजेटको करीब ३० प्रतिशत (कुल गार्हस्थ्य उत्पादनको ८ देखि ९ प्रतिशत) लगानी हस्तान्तरण भएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ । संघीयताले मुलुकको वित्तीय घाटा र सार्वजनिक ऋण बढाउन भूमिका खेलेको र यसमा पनि कोरोना भाइरसको महामारीका कारण यस्तो खर्च अझ बढेको प्रतिवेदनको निष्कर्ष छ । प्रतिवेदनमा वित्तीय स्थिरता र हरित, लचिलो र समावेशी विकासका लागि सहायताको आवश्यकतासमेत औंंल्याइएको छ । प्रतिवेदनले अन्तरसरकारी अनुदान प्रणालीमार्पत तहगत सरकारको खर्च उत्तरदायित्वलाई ताजगी पार्न उत्प्रेरित गर्ने र भन्सार महसुल सुधारको माध्यमबाट निर्यात र रोजगारी सृजनामा सहयोग गर्नुपर्ने सुझाव दिएको छ । राष्ट्रिय परियोजना बैंकलाई कार्यान्वयनमा लिएर सार्वजनिक पूँजीगत खर्च बढाउन र हरित वृद्धितर्पmको परिवर्तनका लागि वित्तीय उत्प्रेरणा दिनेसमेत प्रतिवेदनले सुझाव दिएको छ । हरित वृद्धिका लागि लगानी प्रक्रिया र वित्तीय नीतिहरूको सुदृढीकरणको आवश्यकतालाई जोड दिएको प्रतिवेदनमा नेपालले जनताको स्वास्थ्य र अर्थतन्त्रको रक्षा गर्न वायुप्रदूषणको लक्ष्य पूरा गर्नुपर्ने पनि औंल्याइएको छ । प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले संघीयता बलियो बनाउनका विश्व बैंकको प्रतिवेदन महत्त्वपूर्ण भएको बताए । विश्व बैंकका नेपाल, श्रीलंका र माल्दिभ्सका लागि देशीय निर्देशक फारिस हदाद जार्भाेसले यो प्रतिवेदनले देखाएका वित्तीय दिगोपना तथा वित्तीय संघीयता कार्यान्वयन जस्ता विषयमा सुधार गर्न सदाझैं विश्व बैंक सरकारलाई सहयोग गर्न तयार रहेको बताए । यो प्रतिवेदन र विश्व बैंकको मानव विकाससम्बन्धी सार्वजनिक खर्चको समीक्षा प्रतिवेदनले विश्व बैंकलाई नेपाललाई गरिने सहयोगको खाका बनाउन मद्दत गर्न उनको भनाइ छ ।

सम्बन्धित सामग्री

नेपालमा तेस्रो पेफा मूल्यांकनको शुरुवात

चैत ७, काठमाडौं । नेपाल सरकारले सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) मूल्यांकनलाई औपचारिक रुपमा शुरुवात गरेको छ ।  पेफा सचिवालय, नेपाल र विश्व बैंक, नेपालबीच सहकार्यमा नेपाल सरकारका सहसचिवको नेतृत्वमा ११ ओटा समूहमा ६१ जनालाई तालिम आयोजना गरिएको थियो ।  उक्त तालिम कार्यक्रमको उद्घाघाटन सत्रमा अर्थ सचिव मधुकुमार मरासिनीले अर्थतन्त्रको एमआरआई गर्ने कार्य पेफा मूल्यांकनमार्फत हुने भएकाले मूल्यांकनकर्ताहरुलाई अवसरको रुपमा लिन प्रेरित गरे ।   नेपालले यसपटक संघको मात्र नभएर चरणगतरुपमा प्रदेश तथा स्थानीय निकायको समेत पेफा मूल्यांकन गर्नेछ । संघको पेफा मूल्यांकन गर्दा लैगिंक तथा वातावरणिय पक्षको समेत मूल्यांकन गर्ने गरि सार्वजनिक वित्त व्यवस्थापन सुधार निर्देशक समितिबाट निर्णय भएको जानकारी गराए ।  कानूनीरुपमा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन तथा नियमावलीमा मन्त्रीसम्मको जवाफदेहिता, आन्तरिक नियन्त्रण तथा आन्तरिक लेखापरिक्षणको व्यवस्था स्पष्ट गरिएको चर्चा गरे। साथै अहिले पूँजीगत खर्च २० प्रतिशतको हाराहारी हुँदा ३६८ अर्वको थप माग विभिन्न निकायहरुवाट अर्थमन्त्रालयमा आएको छ ।  यसरी गरिने रकमान्तरले बजेटको विश्वसनियताको पेफा मूल्यांकनमा ग्रेड कम आउन सक्ने बताए । महालेखा नियन्त्रक सुमनराज अर्यालले अर्थतन्त्रमा अहिले बाह्य प्रभाव देखापरेको सन्दर्भमा पेफा मूल्यांकन हुँदैछ यसले सुधार सधैभरि अरुको नक्कल मात्र गर्ने विषय होइन हाम्रो आफ्नो शैलिमा समेत सुधारलाई जोडदिन उपयुक्त हुन्छ र पेफालाई स्थानीय तहसम्म लैजानु पर्नेमा जोड दिए ।  राजस्व सचिव कृष्णहरि पुष्करले पेफा मूल्यांकनको सफलताको कामना गर्दै नेपालले स्व: मूल्यांकन गरि हाम्रा सुधारको मापन गर्न लागेको बताए । विश्ववैकका तर्फबाट सिनियर अपरेशन अफिसर विज्ञान प्रधानले सरकारले अपनत्व लिएर तेस्रो पेफा मूल्यांकन पेफा कार्य अगाडि बढाएको र यसवाट देखिने कमिकमजोरी सुधार गर्न विकास साझेदारले सहयोग गर्ने कुरा उल्लेख गरे ।  पेफा सचिवालय, नेपालका संयोजक थान प्रसाद पंज्ञानीले तालिम कार्यक्रम लगत्तै सबै मूल्यांकनकर्ताले राष्ट्रिय अभियानको रुपमा रहेको पेफा मूल्यांकन कार्यमा खटिन र यसलाई अन्तराष्ट्रियस्तरको बनाउन पेफा फेर्मवर्क २०१६ को ज्ञान हासिल गरि मूल्यांकनलाई वस्तुनिष्ठ बनाउन सबै मुल्यांकन कर्तालाई अनुरोध गरे ।  स्वागत मन्तव्यका क्रममा सचिवालयका सदस्य सचिव गोरखवहादुर शाहीले नेपालमा पेफा मूल्यांकन शुरुवात गर्नुमा  सन २००५ पछि बाह्य ऋण कुल ग्राहस्थ उत्पादनको अनुपात बढी रहेको र ऋणको साँवा ब्याज तिर्न वैदेशिक मुद्रा सञ्चितिको न्यूनतम पूर्ती गर्न विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्राकोषले अघि सारेका दुई विकल्पमध्ये सुधारको विकल्पको रुपमा आत्मसाथ गरेको बताए ।   एउटा विकल्प, उच्च ऋण युक्त गरीब मुलुकको पहलमा समावेश भएर विकास साझेदारको कडा शर्त पालना गरेर वैदेशिक सहयोग परिचालन गर्ने वा अर्को विकल्प, सार्वजनिक वित्त व्यवस्थापनका प्रणाली, प्रक्रिया र संरचनामा सुधार गरी आफ्नै प्राथमिकतामा वैदेशिक सहायता परिचालन गर्ने विकल्पहरु थिए । निरन्तर सुधारले गर्दा दोस्रो पेफा मूल्यांकनमा ६१ प्रतिशत सुचकहरुमा सुधार हुँदै अहिलेसम्म आइपुग्दा वैदेशिक सहायता हाम्रो प्राथमिकतामा परिचालन गर्ने गरि केही हदसम्म बजेटरी सहायता प्राप्त हुन थालिसकेको छ ।  अमेरिकाको डि सी स्थित पेफा सचिवालयले लागु गरेका पेफा फेर्मवर्क २०१६ तथा अन्य प्रकाशित कार्यविधिको पालना गरि प्रमाणमा आधारित पेफा मूल्यांकन गरिने भएकाले यसको विश्वसनियता विश्वभर कायम छ ।  फेर्मवर्क अनुसार चार फेजका १० चरणमा ७ ओटा पिलर, ३१ सुचक तथा ९४ ओटा आयामहरुको पेफा मूल्यांकन हुने गर्दछ । पेफा मूल्यांकन प्रतिवेदनले देशको वित्तिय अवस्थाको चित्रण मात्र नगरि आगामी दिनमा  गर्नुपर्ने सुधार समेत प्रस्तुत गर्दछ ।  पेफा सचिवालयले प्रतिवेदनमा आधारित भएर सार्वजनिक वित्तिय व्यवस्थापन सुधार रणनीति तथा कार्यक्रम तयार गरि सबै सरोकारवालाहरुसँग सहकार्य गरि सुधारलाई संस्थागत गर्ने पद्दति अंगिकार गरेको छ । हालसम्म करीब १५५ देशले ७२९ पटक पेफा मूल्यांकन गरिसकेका छन् ।

मानव संसाधन विकासका लागि सार्वजनिक खर्चमा सुधार गर्नुपर्ने : विश्व बैंक

नेपालले मानव संसाधन विकासका लागि सार्वजनिक खर्चमा सुधार गर्नुपर्ने विश्व बैंकले जनाएको छ । विश्व बैंकले बुधबार सार्वजनिक गरेको ‘नेपालमा मानव विकासका लागि संघीयता र सार्वजनिक खर्च : उदाउँदो एजेन्डा’ प्रतिवेदनले...

मानव पूँजी विकासमा कोभिडले चुनौती थप्यो, लगानी बढाउनु पर्छ : विश्व बैंक

२६ माघ, काठमाडौं । विश्व बैंकले नेपालको मानव पूँजी विकासमा कोभिड १९ले चूनौति थपेको भन्दै लगानी थप गर्न र खर्च प्रभावकारी बनाउन सुझाव दिएको छ । ‘नेपालमा मानव विकासका लागि संघीयता र सार्वजनिक खर्च : उदाउँदो एजेण्डा’ नामक प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले यस्तो बताएको हो । खासगरी संघीयतातर्फको यात्राले बृहत्तर मानव पूँजी संचयलाई प्रवर्द्धन […]

विनिमय संकट टार्ने तयारी : आईएमएफसँग ४० करोड अमेरिकी डलर ऋण लिइने

काठमाडौं । विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलन कमजोर भइरहेको बेला सरकारले अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) सँग ४० करोड अमेरिकी डलर ऋण लिएर विनिमय संकट टार्ने तयारी गरेको छ । नेपाल सरकारको प्रस्तावमा आईएमएफले एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (ईसीएफ) मार्पmत नेपाललाई ४० करोड अमेरिकी डलर अर्थात् करीब ४८ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको हो । यस्तो ऋण लिन अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकका अधिकारीहरू र आईएमएफका अधिकारीहरूबीच ‘एक लेभल’मा सहमति समेत जुटिसकेको छ । आइएमएफले यसबारेमा जानकारी दिँदै आईएमएफका मिशन प्रमुख रोबर्ट ग्रेगरीसहितको टोलीसँग नेपालका अधिकारीहरूले पटकपटक छलफल गरेको र यस्तो ऋण दिन आईएमएफ तयार भएको हो । ग्रेगोरीसहित आईएमएफको टोली गत अक्टोबर २० देखि २९, नोभेम्बर १७ र १८ तथा नोभेम्बर ३० देखि डिसेम्बर २ तारीखसम्म नेपालमा समेत आएको थियो । उक्त टोलीले अघिल्लो साता अर्थमन्त्री जनार्दन शर्मालाई पनि भेटेको थियो । त्यस बेला ऋणको बारेमा छलफल भएको थियो । ऋण रकम आईएमएफको कार्यकारी बोर्ड बैंठकबाट भने स्वीकृत हुन बाँकी छ । यस्तो रकम ३८ महीनाका लागि उपलब्ध गराउन गरी आगामी बोर्ड बैठकबाटै ऋण स्वीकृति गर्ने तयारी भइरहेको आईएमएफले जनाएको छ । सामान्यतया विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलन कमजोर हुँदा आईएमएफले ईसीएफ उपलब्ध गराउँदै आएको छ । हालै आईएमएफले जारी गरेको विज्ञप्तिअनुसार यो शर्तसहितको ऋण हो । नेपालले लिन लागेको ईसीएफबाट कोभिड–१९ महामारीका कारण प्रभावित अर्थतन्त्र उकास्न, समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्व जोगाउन र गरीबी न्यूनीकरणका विभिन्न कार्यक्रममा खर्च गरिनेछ । आईएमएफका अनुसार कोभिड महामारीले नेपालको अर्थतन्त्रमा ठूलो असर पारेको छ, जनताको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ । सन् २०१९÷२० मा कुल गार्हस्थ्य उत्पादनमा समेत संकुचित आएको र नेपालले २०२१ मा विनाशकारी दोस्रो लहरको सामना गर्‍यो, जसले अर्थतन्त्र गतिविधिमा क्रमिक सुधारमा बाधा पु¥याइरहेको विज्ञप्तिमा उल्लेख छ । यी सबै संकटबाट माथि उठी अर्थतन्त्रलाई थप चलायमान बनाउन आईएमएफले उक्त ऋण सहयोग गर्न लागेको बताइएको छ । राजस्व र सार्वजनिक खर्च बढाउन, वित्तीय क्षेत्र नियमन, सुपरिवेक्षण र आर्थिक पारदर्शिता कायम गर्न कार्यान्वयन गरिने विभिन्न कार्यक्रम र भ्रष्टाचार निवारण प्रयास तथा प्रशासनिक क्षमता अभिवृद्धि पनि यो ऋण परिचालन हुने आईएमएफले स्पष्ट पारेको छ । घट्दो विप्रेषण तथा वैदेशिक लगानी र बढ्दो व्यापारघाटाका कारण पछिल्लो समय नेपालमा विदेशी मुद्रा सञ्चिति घट्दै गएको छ । भुक्तानी सन्तुलनमा चाप देखिन थालेपछि सरकारले ईसीएफ ल्याउने तयारी गरेको हो । कोरोना भाइरस महामारीका कारण नेपालले आर्जन गर्ने विदेशी मुद्रामा निरन्तर कमी आई सञ्चिति घट्दो छ । यसले विदेशी मुद्रा विनिमयमा संकट उत्पन्न हुँदै आएको छ । नेपालले खासगरी विश्व बैंक, एशियाली विकास बैंक र अन्तरराष्ट्रिय मुद्राकोषलगायतबाट ऋण लिँदै आएको छ । नेपालले लिने त्यस्तो खाले वैदेशिक ऋणको ब्याज र साँवा नेपाली मुद्रामा नभई डलरमा तिर्नुपर्ने हुन्छ । यसले पनि सञ्चितिमा असर पारिरहेको अर्थशास्त्री विश्वम्भर प्याकुरेल बताउँछन् । ‘आन्तरिक ऋण त नेपाली मुद्रामै तिर्न सकिन्छ । तर, बाह्य ऋण डलरमा तिर्नुपर्ने हुन्छ । त्यसलाई धान्न मुश्किल नै पर्ने गरेको छ,’ प्याकुरेलको भनाइ छ ।