राष्ट्रिय जनमोर्चा मकवानपुरको विस्तारित बैठक सम्पन्न

हेटौँडा । राष्ट्रिय जनमोर्चा मकवानपुरको विस्तारित बैठक २०७७ चैत १४ गते शिखरकोटको विकासघरमा सम्पन्न भएको छ । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय कोषाध्यक्ष पुरुषोत्तम कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा अखिल नेपाल शिक्षक सङ्घ मकवानपुरका अध्यक्ष कृष्णबहादुर विष्ट, अखिल नेपाल महिला सङ्घ मकवानपुरका अध्यक्ष मीरा खड्कालगाएतको आतिथ्यता रहेको थियो । गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ, भ्रष्टाचारका विरुद्ध सङ्घर्ष गरौँ मूल नाराका साथ बुटवलमा सम्पन्न हुन गइरहेको राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन सफल पार्ने सिलसिलामा सो कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ । कार्यक्रममा मकवानपुरबाट सहभागी हुने प्रतिनिधिहरूको छनोट, सम्मेलनलाई सफल बनाउन प्रचार प्रसार, पर्चा वितरण, भेटघाट सदस्यता वितरण, आर्थिक अभियानलगायतका कामलाई क्षेत्रगत रूपमा विभाजन गरिएको जानकारी दिइएको छ । राष्ट्रिय जनमोर्चा मकवानपुरका सचिव दिनेश विष्टको सञ्चालन र राष्ट्रिय जनमोर्चा मकवानपुरका अध्यक्ष निरबहादुर सिन्तानको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।