होटल खोल्न अनुमति माग्दै पर्सा प्रशासनमा ज्ञापन

असार ११, वीरगञ्ज  । वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीले व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गरेका छन् । होटल तथा पर्यटन व्यावसायी संघ वीरगञ्जले शुक्रवार पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।  कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण व्यवसाय ठप्प हुँदा व्यवसाय थलिएको भन्दै स्वास्थ्य सतर्कताका मापदण्ड पलाना गरेर व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने व्यवसायीहरूले बताएका छन् ।  सरकारले निषेधाज्ञा खुकुलो गर्दै निजी सवारी सञ्चालनमा ल्याइसकेको र हवाई यातायातसमेत खुलाउने तयारी गरेकाले होटल र पर्यटन व्यवसाय बन्द राख्नुको औचित्य नभएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तको भनाइ छ ।  गत बैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञायता व्यवसाय थप संकटमा परेको अध्यक्ष पन्तको भनाइ छ । २०७६ चैतदेखि ६ महीनासम्म लगाइएको बन्दबन्दी र निषेधाज्ञा हटाउँदा पनि स्थानीय होटल र पर्यटन व्यवासाय आंशिक रुपमा मात्र खुलेको थियो ।  बन्दाबन्दी र निषेधाज्ञा हटे पनि सिमा नाकाबाट सवारी आवागमन नखोल्दा सीमावर्ती क्षेत्रको होटल तथा पर्यटन व्यवासाय चल्न सकेको थिएन । यसबाट व्यवसाय थप मारमा परेको गुनासो उनीहरूको छ ।  यसपटक जिल्ला कोभिड व्यवस्थापन केन्द्रले असार तीन गतेदेखि अन्य क्षेत्र खुकुलो पारेको अवस्थामा होटल र पर्यटन व्यवसाय खोल्ने अनुमति नदिएको गुनासो पन्तले गरे । ‘कोरोनाको दोस्रो लहरमा व्यवसाय झन् संकटमा परेको छ । होटल ऋणको ब्याज, किस्ता, घर भाडासमेत तिर्न नसक्ने अवस्था पुगेका छन्,’ उनले सञ्चारकर्मीहरूसित भने ।