र्‍याफ्टिङका लागि दैनिक १ हजारसम्म पर्यटक सुनकोशीमा, '१५ सयमा १७ किलोमिटर जलयात्रा'

काठमाडौं । सिन्धुली र रामेछापका अग्ला पहाड वारिपारिको समथर भूभागमा झुरुम्म बस्ती । छेउमा सलल बगेको सुनकोशी नदी । यहाँको शान्त र सुन्दर वातावरणमा रमाउन केही समययता आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका छन् ।  सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मुलकोटमा अवस्थित ताज रिभरसाइड रिसोर्टका प्रबन्ध निर्देशक मनोज श्रेष्ठका अनुसार गर्मी मौसम शुरू भएसँगै सुनकोशी नदीमा जलयात्रा (र्‍याफ्टिङ) गर्ने पर्यटकको भीड लाग्ने गरेको छ । दिनकै एक/दुई सय पर्यटकले जलयात्रा गरेर आनन्द लिने गरेका छन् ।  पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको जलयात्रा सेवाले पर्यटक तान्न थप सहयोग पुगेको छ । राजधानी काठमाडौंलाई तराईका जिल्लासँग जोड्ने छोटो दूरीको बिपी राजमार्गले पर्यटकलाई आवतजावतमा सहजता थपिदिएको छ । सन् २०१८ अक्टोबर १० मा व्यवसायीले सञ्चालन गरेको जलयात्रा अहिले पर्यटकको आकर्षण बनेको छ । जाडोयाममा पनि जलयात्रा गर्ने पर्यटकको घुइँचो थियो । गर्मीयाम त चैतदेखि असारसम्म भ्याइनभ्याइ हुने व्यवसायी तथा ताज रिभरसाइड रिसोर्टका प्रमुख श्रेष्ठ बताउँछन् । 'जलयात्राको मुख्य सिजन गर्मीयाम हो । यस याममा विशेषगरी काठमाडौंबाट प्याकेजमा मनोरञ्जन लिन आउने गर्दछन्, सार्वजनिक बिदामा दैनिक १ हजार जनाभन्दा बढीले जलयात्रा गर्दै आएका छन्', उनले भने । प्राविधिक दृष्टिकोणले सुनकोशी नदीमा जलयात्रा गर्न सुरक्षित देखिएपछि पर्यटकलाई जुनसुकै समयमा पनि जलयात्रा सेवा दिन सकिएको उनले बताए । जलयात्राका लागि २० ओटा बोट (डुङ्गा) छन् । प्रतिबोट आठ जनासम्म यात्रा गर्न सकिन्छ । हाल १० ओटा बोटमात्रै नियमितरूपमा सञ्चालित छन् । उनका अनुसार सुनकोशी गाउँपालिका–१ को कुशेश्वर महादेव मन्दिरबाट मूलकोटसम्म (१७ किलोमिटर) वा यात्रुको चाहनाअनुसार मुलकोट–खुर्कोटसम्म जलयात्राको नियमित रुट हो ।  यहाँ जलयात्रा गरेबापत प्रतिव्यक्ति १ हजार ५०० रुपैयाँ शुल्क कायम गरिएको छ । पर्यटकले एक साताको प्याकेजमा मुलकोट–चतारासम्म जलयात्रा सेवा पनि लिन सक्छन् । यो सेवाबापतको शुल्क अलि बढी भएकाले विदेशीले मात्र लिने गरेको उनले बताए । रामेछाप खाडाँदेवी गाउँपालिका–३, भिरपानीका चेतबहादुर जर्गामगर बिहीवार सिन्धुलीको मूलकोटमा आएर जलयात्रामा सहभागी भए । रामेछापको नमूना माझी बस्ती, डाँडापाखा, पहाड र नदीको र्‍याफ्टिङले 'स्वर्गीय आनन्द' प्राप्त भएको उनले बताए । जलयात्राकै लागि उनी  भिरपानीबाट मूलकोट आएका हुन् । एक दिनको पूरै समय मूलकोटमा बिताउने गरी आएका उनले सुनकोशीमा जलयात्रा गरी बिताएको बताए । सुनकोशी नदीमा जलयात्रा शुरू गरिएपछि यहाँका होटल र रिसोर्ट सधैंजसो भरिन थालेका छन् ।  व्यापार, व्यवसायमार्फत गाउँपालिकाको विकास गर्न होटल, होमस्टे निर्माण तथा र्‍याफ्टिङ गाइडरलाई तालिम दिनेजस्ता काम पनि बेला–बेलामा भइरहेका छन् । सुनकोशी गाउँपालिकामा पर्यटक भित्र्याउन सुनकोशी नदीमा सञ्चालन गरिएको जलयात्रा सेवाले सहयोग गरेको गाउँपालिका प्रमुख दीपा बोहोरा दाहालको बुझाइ छ । रासस