हेलिकोप्टर सेवाले खप्तड घुम्ने आन्तरिक पर्यटक बढे

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय एवं धार्मिकस्थल खप्तड घुम्न जानेहरुका लागि पाँचदिने ‘हेली टुर प्याकेज’ शुरु भएपछि खप्तड पुग्ने आन्तरिक पर्यटक बढ्न थालेका छन् । खप्तडको प्रवेशद्वार झिंग्रानामा रहेको ‘खप्तड होमस्टे’ आयोजना तथा माउण्टेन हेलिकप्टोरको सहकार्यमा उक्त ‘हेली टुर प्याकेज’ शुरु गरिएको हो ।          ‘हेलि टुर प्याकेज’ शुरु भएसँगै अहिले खप्तड घुम्न आउने आन्तरिक पर्यटक बढेका र यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने अनुमान गरिएको खप्तड होमस्टेका सञ्चालक दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो “कोरोनाका कारण खप्तडमा पर्यटक आउन सकेका थिएनन्, अहिले कोरोनाको सङ्क्रमण कम छ र हामीले ‘हेलि टुर’ प्याकेज पनि शुरु गरेपछि पर्यटकहरु आउन थालेका छन्, यहाँको वातावरण नै रमाइलो देखिएको छ ।”          यस प्याकेजअन्तर्गत खप्तड पुग्नका लागि दिपायलबाट प्रतिव्यक्ति रु १० हजार, झिंग्रानाबाट रु आठ हजार, अछामको साफेगर र बझाङको चैनपुरबाट रु १२ हजार तथा कैलालीबाट रु ३० हजार लाग्ने सो आयोजनाका अधिकारीले जनाएका छन् । यस आयोजनाको बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नुभएको हो । त्यस अवसरमाा मुख्यमन्त्री भट्टले खप्तड क्षेत्रको पर्यटकीय विकासका लागि प्रदेश सरकारले ठोस योजना बनाई अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तडको विकासका लागि प्रदेश सरकार ठोस योजना ल्याउने तयारीमा छ, चाडै हामी केही नयाँ काम गर्छाैं ।” सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली र डोटीबाट खप्तड जान हवाइ टिकटको व्यवस्था मिलाइएको आयोजकले जनाएका छन् । खप्तड क्षेत्र सुदूरपश्चिम प्रदेशको प्रमुख चिनारी हो ।