राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको तयारी पूरा

लुम्बिनी प्रदेशमा हुने राष्ट्रिय सभा उपनिर्वाचनको तयारी पूरा भएको छ। मतदान स्थल निर्माण, मतदान व्यवस्थापन तथा सुरक्षा व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। राष्ट्रिय सभा सदस्यमा रिक्त रहेको एक सदस्यका लागि बुधबार लुम्बिनी प्रदेशमा उपनिर्वाचन हुने भएको हो। उपनिर्वाचनका लागि घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान स्थल निर्माण गरिएको छ। प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार मतदानका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ। “राष्ट्रिय सभा उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ,” सूचना अधिकारी कुँवरले भन्नुभयो, “बिहान १० बजेदेखि मतदानको व्यवस्था मिलाएका छौँ।”