सुक्खायाममा विद्युत् आपूर्ति सुनिश्चित गर्न माग

विराटनगर  । विद्युत् आपूर्तिमा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि उद्योग संगठन मोरङ र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिबीच छलफल भएको छ । नेपाल विद्युत् प्राधिकरणका डेपुटी प्रबन्ध निर्देशक मनोज सिलवाल र भारप्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईको उपस्थितिमा केही दिनअघि विराटनगरमा भएको छलफलमा संगठनले आगामी वर्ष सुक्खायाममा औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति सहज बनाउनुपर्नेमा जोड दिएको छ । छलफलमा बिजुलीको भोल्टेज फ्लक्चुएशन तथा ट्रिपिङको समस्या समाधानका विषयमा समेत संगठनले प्राधिकरणको ध्यानाकर्षण गराएको छ । बिजुलीको भोल्टेज फ्लक्चुएशन तथा ट्रिपिङको समस्या समाधानका विषयमा समेत उद्योग संगठन मोरङले नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएको छ । गत हिउँदमा औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिको जटिल समस्या भएको भन्दै संगठनले आगामी दिनमा भरपर्दो आपूर्तिको सुनिश्चितता कायम गर्न प्राधिकरणलाई आग्रह गरेको थियो । गत हप्ता काठमाडौं नै गएर संगठनको प्रतिनिधिमण्डलले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग यसबारे छलफल गरेको थियो । तत्कालको समस्या समाधानका लागि संगठनले गरेको आग्रह अनुरूप प्राधिकरणका डेपुटी प्रबन्ध निर्देशक लगायतको टोलीले बिहीवार उद्योगी व्यवसायीसँग छलफल गरेको हो । कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले आगामी सुक्खायाममा विद्युत् आपूर्तिमा समस्या नहुने सुनिश्चितताका लागि प्राधिकरणको योजना र यथार्थ जानकारी उपलब्ध गराउन माग गरेका थिए । प्राधिकरणका डेपुटी प्रबन्ध निर्देशक सिलवालले सुक्खायाममा हुने विद्युत् अभावको समस्याको समाधानका लागि ढल्केबर–इनरुवा ४०० केभीए प्रसारण लाइन तथा बर्जुमा सबस्टेशन निर्माण छिट्टै सम्पन्न गरिने बताए । व्यवस्थापकीय कमजोरीका कारण हुने गरेको ट्रिपिङ, लो भोल्टेज, फ्लक्चुएशन जस्ता समस्या न्यूनीकरणका लागि उद्योगहरूमा स्विचिङ प्रणाली, कटहरी कोरिडोरमा कपर वायरको व्यवस्थाका साथै उद्योगी व्यवसायीको गुनासो सुनुवाइका लागि कल सेन्टर पूर्ण रूपमा सञ्चालनमा ल्याएर प्रभावकारी सेवा प्रवाह गरिने जानकारी उनले दिए ।  कार्यक्रममा उपस्थित अधिकांश उद्योगी व्यवसायीले ट्रान्सफरमर परीक्षणका लागि हेटौंडा पुर्‍याउनुपर्ने बाध्यता अन्त्यका लागि प्रदेशस्तरीय ट्रान्सफरमर परीक्षण केन्द्र स्थापना गर्नुपर्ने र सडक पूर्वाधार निर्माण गर्दा प्राधिकरण र सम्बन्धित पक्षबीच समन्वय हुनुपर्नेमा जोड दिएका थिए ।