नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंद्वारा बजेटको स्वागत

काठमाडौं (अस) । नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंले साना तथा मझौला व्यवसायसित सम्बन्धित चालू आर्थिक वर्षमा तय गरिएका कार्यक्रमलाई निरन्तरता दिइएकामा स्वागत गरेको छ । कर छुट वृद्धि, पुनर्कर्जा कार्यक्रममा विस्तार, व्यवसाय सुरु गर्दा लाग्ने करमा सहुलियत ऋणको व्यवस्था, एक महिनाका लागि पर्यटन भिसा निःशुल्क हुने व्यवस्था गरिनु बजेटको सकारात्मक पक्ष रहेको संघको ठहर छ । एक्जिम कोड एक पटकमा ५ वर्षका लागि नवीकरण गर्न पाइने सुविधा, निर्यातमा आधारित उद्योगलाई दिइने र अघिल्लो वर्षभन्दा बढी निर्यात गर्नेलाई थप नगद अनुदान उपलब्ध गराइने विषय सकारात्मक भएको महासंघ अध्यक्ष  मीरा भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ । महासंघले तलब, घर भाडा, बैंकको ब्याज तिर्न न्यूनतम सुविधा नदिइएको, बैंकको झन्झटिलो प्रक्रियाका कारण साना तथा मझौला व्यवसायीले पुनर्कर्जा सजिलै पाउन सक्ने अवस्था नभएको बताएको छ । यसका लागि आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा रोजगारी गुमाउने, लगानीमा संकुचन हुने, व्यवसायीलाई ऋणको बोझ थपिने, निर्यातबाट प्राप्त हुने आम्दानीमा जोखिम बढ्नेलगायत विषय कम गर्ने सन्दर्भमा सम्बोधन जरुरी रहेको बताएको छ ।