जाल्पाको आईपीओ पर्नेलाई पहिलो कारोबार दिनमै १० हजारभन्दा बढी नाफा हुने सम्भावना !

माघ २४, काठमाडौं । माघ २१ गतेदेखि सार्वजनिक निष्कासनमा आएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने मंगलवार अन्तिम दिन रहेको छ ।  पहिलो दिनमै मागभन्दा करीब १५ गुणा बढी आवेदन परेको कम्पनीको आईपीओ छिटो अवधि माघ २५ गतेसम्म मात्र विक्रीमा रहने भएको हो । सोमवार बिहान १० बजेसम्म भने कम्पनीको आईपीओ खरीदका लागि १९ लाख ९५ हजार १५० जनाबाट २ करोड ४६ लाख ४४ हजार ६५० कित्ताको माग भएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । जुन मागभन्दा साढे ५० गुणा बढी आवेदन हुन आउँछ । प्राथमिक बजारमा तीन महीनापछि निष्कासनमा आएको यस कम्पनीको आईपीओ खरीदका लगानीकर्ताहरुको उच्च आकर्षण देखिएको छ । कम्पनीले रू. ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो ।  कम्पनीले कुल कित्ता आईपीओमध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात् ८ हजार कित्ता कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागानी कोषहरुलाई सुरक्षित गरेको छ । यी बाहेक बाँकी ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको हो ।  आवेदकहरुले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।  कम्पनीको यस आईपीओलाई इक्रा रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि रेटिङ प्रदान गरेको छ ।  हाल लघुवित्तको चुक्तापूँजी रू. १० करोड ७८ लाख रहेको छ । आईपीओ बाँडफाँट पश्चात चुक्तापूँजी रू. १६ करोड पुग्नेछ । हालको आईपीओ बाँडफाँटको व्यवस्था अनुसार भाग्यमानी ४८ हजार ७९० जनाले जाल्पा सामुदायिक लघुवित्तको शेयर १० कित्ताका दरले प्राप्त गर्नेछन् । धितोपत्र दोस्रो बजारमा पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्य रेञ्ज तोक्ने देखिएको छ ।  कम्पनीको आर्थिक वर्ष ०७७/७८ सम्मको अपस्किृत वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ रू. ३७९ दशमलव ८६ रहेको छ । उक्त प्रतिशेयर नेटवर्थको आधारमा नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ३७९ दशमलव ८६ देखि रू. १ हजार १३९ दशमलव ५८ मूल्य रेञ्ज तोक्नेछ ।  नेप्सेले तोकेको उच्च मूल्यको आधारमा कम्पनीको कारोबार खुला भएमा १० कित्ता शेयर प्राप्त गर्ने लगानीकर्ताहरुले पहिलो दिनमै रू. १० हजारभन्दा बढी नाफा गर्नेछन् ।