गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा भइरहेको राजनीतिक परिवर्तनमा नेपाल सरकार तटस्थ नीतिमा रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले नेपाल सरकारको मुख्य चासो काबुलमा रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारमा रहेको पनि बताउनुभयो । मङ्गलबारदेखि चरणबद्ध रूपमा नागरिकको उद्धार कार्य सुरु भइसकेको बताउँदै मन्त्री खाँणले भन्नुभयो, “अफगानिस्तान प्रकरणमा नेपाल सरकारको तटस्थ नीति रहेको छ । घटनाक्रमलाई हामीले गम्भीर रूपमा ध्यानाकर्षण र अवलोकन गरिरहेका छौँ । हाम्रो मूल ध्यान त्यहाँ रहेका नेपालीको सुरक्षा र स्वदेश फिर्ता हो ।”