मेलौली नपाका प्रवेशस्थलमा हेल्थडेस्क स्थापना गरिने

बैतडी (अस) । बैतडीको मेलौली नगरपालिकाले दुई ठाउँमा हेल्थडेस्क स्थापना गर्ने भएको छ । तेस्रो लहरको कोरोना संक्रमण नियन्त्रणका लागि पूर्वतयारीमा जुटिरहेको नगरपालिकाले नगरका दुई प्रवेशस्थलमा हेल्थडेस्क स्थापना गर्न लागेको हो । नगरपालिकाको प्रवेशद्वारको रूपमा रहेको वडा नं २ को सलेना र वडा नं ७ को मर्छलेमा हेल्थडेस्क स्थापना गर्नेछ । नगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले नगरभित्र कोरोना फैलिन नदिन दुई ठाउँमा हेल्थडेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले बताए । ‘हेल्थडेस्कमा स्वास्थ्यकर्मी खटाउँछौं र कोरोना प्रभावित क्षेत्रबाट आउने सबैको परीक्षण गर्छौं,’ उनले भने । कोरोना संक्रमण थप फैलिने चेतावनी आइरहेका बेला सोको नियन्त्रणका लागि आफूहरू पूर्वतयारी जुटिरहेको नगरप्रमुख कृष्णसिंह नायकले बताए । जिल्लामा दिनदिनै कोरोना संक्रमित थपिए पनि मेलौली नगरपालिकामा भने सक्रिय संक्रमितको संख्या शून्य छ ।