काठमाडौं । होटेल एशोसिएशन नेपाल (HAN)का नवनिर्वाचित अध्यक्ष विनायक शाहले मुलुकमा पर्यटक भित्र्याउन बलियो र गुणस्तरीय कनेक्टिभिटी प्राथमिकतामा हुनुपर्नेमा जोड दिएका छन् । हाल सञ्चालनमा रहेका होटेल व्यवसाय ३५ लाख पर्यटकलाई सेवा दिने क्षमतामा रहेको भन्दै उनले हवाई र सडकमार्गको ‘कनेक्टिभिटी’लाई बलियो र गुणस्तरीय बनाउनुपर्ने बताएका हुन् ।
भारत र चीनबाट वार्षिक रूपमा करोडौं पर्यटक विदेश भ्रमणमा निस्कने भएकाले यी २ देशसँगको कनेक्टिभिटी बलियो बनाउन सरकारले पहल गर्नुपर्नेमा उनले जोड दिए । मंगलवार आर्थिक अभियानसँगको कुराकानीमा उदाहरण दिँदै शाहले भने, ‘निजीक्षेत्र पर्यटकलाई सेवा दिन सक्षम छ । तर, बनिसकेका दुईओटा अन्तरराष्ट्रिय विमानस्थल पनि सरकारले सञ्चालनमा ल्याउन सकेन ।’
पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको उच्चतम प्रयोग गरेर बलियो कनेक्टिभिटी बनाउँदा पर्यटक उल्लेख्य मात्रामा भित्र्याउन सकिने उनको दाबी छ । ‘सडक, हवाई पूर्वाधारमा सुधार नदेखिएको होइन,’ एयरपोर्ट होटेलका प्रबन्ध निर्देशकसमेत रहेका शाहले भने, ‘तर, यसको गति सुस्त छ । अर्कातर्फ नेपालमा हवाई दुर्घटना पनि भइरहेको र यूरोपेली संघ (EU)ले समेत कालोसूचीमा राखेको हुँदा समस्या छ ।’
अर्काेतर्फ दक्षिण र उत्तरतर्फ जोड्ने सडकमार्ग पनि गुणस्तरीय नहुँदा ती देशबाट पर्यटक भित्र्याउन समस्या भएको उनको भनाइ छ । हानसँग साना ठूला गरेर ४ हजार ५०० होटेल जोडिएका छन् । यसबाट स्थायी र अस्थायी गरी ११ लाखभन्दा बढीले रोजगारी पाएका छन् । अहिलेको मूल्यअनुसार यो क्षेत्रमा सरकारको वार्षिक बजेट बराबर अर्थात करीब १६ खर्ब रुपैयाँभन्दा बढी लगानी छ । वार्षिक १८ लाख पर्यटक नेपालमा आउँदा होटेल व्यवसायमा भएको लगानी उठ्ने उनको अनुमान छ ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१९ मा नेपालमा सबैभन्दा धेरै अर्थात झन्डै १२ लाख पर्यटक आएका थिए । तर, कोरोनापछि यो क्रम सुस्ताएको छ । सन् २०२३ लागेसँगै पर्यटक आगमनमा निरन्तर सुधार देखिएको छ । बोर्डले मंगलवार सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्षको पहिलो ४ महीनामा नेपालमा कुल ३ लाख २६ हजार पर्यटक हवाई मार्गबाट आएका छन् । यस्तै अहिले आन्तरिक पर्यटक, विवाह, व्रतबन्ध तथा अन्य कार्यक्रमका लागि पनि होटेलहरू नै प्रयोग गर्दा व्यवसायमा केही सकारात्मक अवस्था देखिएको अध्यक्ष शाहको भनाइ छ ।
४८औं वार्षिक साधारणसभामा बैंकबाट लिएको साँवाब्याज भुक्तानी गर्न नसकेको विषय उठेको भन्दै उनले यसलाई सम्बोधन गर्न पहल गर्ने बताए । चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामा र आगामी आर्थिक वर्षको बजेटमा पनि यी विषय उठाइने उनको भनाइ छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा होटेल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा समेटिने भनिएको उल्लेख गर्दै शाहले भने, ‘यो क्षेत्रलाई उद्योगको मान्यता दिनुपर्छ ।’
यस्तै सरकारले पर्यटन क्षेत्रसँग सम्बद्ध कुनै पनि विषयलाई अघि बढाउँदा निजीक्षेत्रसँग छलफल र समन्वय गर्नुपर्नेमा उनको जोड छ । बढी खर्च गर्ने पर्यटक भित्र्याउन मुस्ताङलगायत क्षेत्रमा काम भइरहेको उनको भनाइ छ । १/२ वर्षभित्रमा नेपालले पर्यटनसँग सम्बद्ध ठूलो कुनै कार्यक्रम आयोजना गर्नुपर्ने र त्यसका लागि निजीक्षेत्र तयार रहेको अध्यक्ष शाहले बताए ।
अध्यक्ष शाहको पूरा अन्तरवार्ता न्यू बिजनेश एजको प्रिन्ट संस्करण 'आर्थिक अभियान राष्ट्रिय दैनिक/अनलाइन संस्करण, www.abhiyandaily.com र New Business Age YouTube च्यानल बाट शीघ्र प्रसारण हुनेछ ।'