अपि पावरको शेयरमा झुम्मिए लगानीकर्ता : कुल कारोबारमा सर्वाधिक हिस्सा

पुस २७, काठमाडौं । मंगलवारको कारोबारमा अपि पावर कम्पनी लिमिटेडको शेयरमा लगानीकर्ताहरुको आकर्षण बढी देखिएको छ ।  यो दिन कुल कारोबारमा अपि पावरले सर्वाधिक हिस्सा ओगटेको हो । मंगलवार रू. ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार बराबरको १ करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर कारोबार हुँदा अपि पावरको मात्र रू. १६ करोड ८३ लाख २२ हजार बराबरको ३ लाख २९ हजार ९७५ कित्ता शेयर कारोबार भएको हो ।  सर्वाधिक रकमको शेयर कारोबार भएको कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता रू. ४ दशमलव ९० ले बढेर अन्तिम मूल्य रू. ५१० दशमलव ९० कायम भएको छ । यस दिन कम्पनीको शेयरमूल्य रू. ५०६ मा खुला भई न्यूनतम रू. ५०३ देखि अधिकतम रू. ५१८ सम्म पुगेको थियो । यस कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर विक्रीको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गत असोज २५ गते निवेदन दिएको छ । कम्पनीको भदौ २५ गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको थियो ।  उक्त सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट १० दशमलव ५० प्रतिशत बोनस शेयर वितरण र सोको कर प्रयोजनार्थ शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको थियो । कम्पनीले १० दशमलव ५० प्रतिशत बोनस शेयरपश्चात कायम चुक्तापूँजीको आधारमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । विद्युत् नियमन आयोगले कम्पनीको बोनस पश्चात कायम चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजारको अधाारमा १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासनका लागि पूर्व स्वीकृति दिएसँगै कम्पनीले बोर्डमा निवेदन दिएको हो ।  आयोगले पूर्व स्वीकृति दिदैं विभिन्न ६ शर्तहरु पनि तोकेको छ । शेयर विक्रीबाट प्राप्त रकम आयोजना निर्माणमा लगानी गर्नुपर्ने र सो समेत समावेश गरी ऋण र स्वः लगानीको अनुपात कायम गर्नुपर्ने शर्त आयोगले राखेको छ ।  त्यस्तै, ऐन नियमावली, विनियमावली र निर्देशिका बमोजिम कार्यान्वयन गर्न र निर्दिष्ट विषय सम्पादन गर्न समयसमयमा आदेश वा परिपत्र जारी गर्दा सोको परिपालना कम्पनीले गर्नुपर्ने शर्त समेत राखेको छ । आयोगबाट जारी भएको मापदण्ड, संहिता तथा संस्थागत सुशासन सम्बन्धी निर्देशिका पालना गर्न, हकप्रद शेयरको निष्कासन विवरणपत्रमा प्रकाशन गरिने विवरणहरुमा धितोपत्र सम्बन्धी प्रचलित कानून बमोजिमका विवरणहरुको अतिरित्त आयोजना सम्बन्धी आय विवरण उल्लेख भएको १२ महीनाको तालिका समेत समावेश गर्न आयोगले भनेको छ ।  साथै आयोजना सम्पन्न भएपछि सोको कुल लागत सर्वसाधारणको जानकारीका लागि प्रकाशन गर्नुपर्ने र सोको जानकारी आयोगलाई दिने शर्त पनि रहेको छ । अपि पावर कम्पनीले निर्माणाधित ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रदको सहारा लिएको हो ।  उक्त आयोजनाको अनुमानित लागत रू. ७ अर्ब ४० करोडमध्ये रू. २ अर्ब २२ करोड शेयरधनीहरुबाट संकलन गर्ने योजना कम्पनीको रहेको छ । 

सम्बन्धित सामग्री

फागुनमा हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार, १ अर्ब २६ करोडको शेयर किनबेच

काठमाडौं । फागुनमा जम्मा १७ कारोबार दिन मात्र धितोपत्र दोस्रो बजार सञ्चालन भएको छ । साताको पाँच कारोबार दिन सञ्चालन हुने धितोपत्र दोस्रो बजार फागुनमा सार्वजनिक बिदा बढी परेकाले कम कारोबार दिन मात्र सञ्चालनमा आएको थियो ।  माघ मसान्तसम्मको तुलनामा समग्र धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १६८ दशमलव ८१ अंक घटेको छ । माघ मसान्तसम्म २ हजार १२१ दशमलव ८७ विन्दुमा रहेको नेप्से परिसूचक फागुन मसान्तसम्म १ हजार ९५३ दशमलव शून्य ६ विन्दुमा झरेको थियो । फागुन महीनाको १७ दिनको कारोबारमा नेप्से परिसूचक पाँच कारोबार दिन मात्र बढेको देखिन्छ । घटेको बजारमा यो महीना हिमालयन डिष्टिलरी लिमिटेडको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । यो कम्पनीको रू. १ अर्ब २६ करोड ७३ लाख बराबरको ५ लाख ५५ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको फागुनमा हिमालयन डिष्टिलरीको शेयर मूल्य भने प्रतिकित्ता रू. ५३९ ले घटेको देखिन्छ । माघ मसान्तसम्म रू. २ हजार ६०५ रहेको हिमालयन डिष्टिलरीको शेयर मूल्य फागुन मसान्तसम्म भने प्रतिकित्ता रू. २ हजार ६६ मा झरेको हो । मूल्यमा आएको कमिलाई आधार मान्दा हिमालयन डिष्टिलरीको शेयरमा फागुनमा विक्री चाप बढी देखिएको छ ।  हिमालयन डिष्टिलरीपछि सर्वाधिक रकमको कारोबार हुने दोस्रो कम्पनीमा एनआईसी एशिया बैंक रहेको छ । अघिल्लो दुई आर्थिक वर्ष लगानीकर्तालाई लाभांश नदिई हात खाली बनाएको एनआईसी एशिया बैंकको फागुनमा मात्र रू. ८४ करोड २० लाखभन्दा बढीको शेयर कारोबार भएको छ । बैंकको उक्त रकम बराबरको १० लाख ५१ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो । माघ मसान्तसम्मको तुलनामा एनआईसी एशिया बैंकको शेयर मूल्य प्रतिकित्ता रू. ५५ दशमलव ९० ले घटेको छ । माघ मसान्तसम्म प्रतिकित्ता रू. ८२० दशमलव ९० रहेको बैंकको शेयर मूल्य फागुन मसान्तसम्म भने प्रतिकित्ता रू. ७६४ मा झरेको हो ।  फागुनमा सर्वाधिक रकमको कारोबार गर्ने दश कम्पनीभित्र हिमालयन डिष्टिलरी र एनआईसी एशिया बैंकसँगै शिवम् सिमेन्ट, नबिल बैंक, ङादी ग्रुप पावर, अपि पावर, अपर तामाकोशी, युनिभर्सल पावर, छिमेक लघुवित्त र अरुण भ्याली हाइड्रोपावर रहेको छ । सर्वाधिक कारोबार गर्ने दश कम्पनीमध्ये जलविद्युत् कम्पनीहरूकै वर्चश्व देखिन्छ । धितोपत्र दोस्रो बजारमा हाल ६७ जलविद्युत् कम्पनीहरू सूचीकृत छन् ।  जलविद्युत कम्पनीहरूले पछिल्लो समय कर्जा तिर्नकै लागि हकप्रद जारी गर्न पाउने व्यवस्था लागू भएसँगै हकप्रद शेयरलाई प्राथमिकतामा राखेर अघि बढेको अवस्था छ । करिब एक दर्जन जलविद्युत् कम्पनीले हकप्रद शेयर निष्कासनको तयारी गरेका छन् । कम्पनीको लाभांश र हकप्रद शेयरमा लगानीकर्ताको लगाब सधैं रहेको देखिन्छ । दैनिक धितोपत्रमा देखिएको उतारचढावसँगै लगानीकर्ताहरूले कम्पनीहरूले सार्वजनिक गरेको लाभांश र हकप्रदका लागि पनि धितोपत्र खरीद गर्ने गर्दछन् । जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढ्नुको पछि भने हकप्रद शेयर निष्कासन प्रक्रियालाई नै जानकारीहरूले कारण बनाएका छन् । धेरैजसो जलविद्युत्को शेयर मूल्य अन्य क्षेत्रका कम्पनीको तुलनामा कम रहेकाले पनि लगानीकर्ता यस क्षेत्रको शेयरप्रति आकर्षित भएको हुन सक्ने अनुमान जानकारहरूको छ ।  फागुनमा सर्वाधिक कारोबार गर्ने १० कम्पनी

एमसीसी अनुमोदनपछिको पूँजीबजार : जलविद्युत्का लगानीकर्ताले धेरै गुमाए

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता पारित भएपछि जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक प्रभाव पर्ने आशाविपरीत सोमवारको कारोबारमा जलविद्युत् समूहका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये जलविद्युत् समूहको सर्वाधिक ३ दशमलव  शून्य ९ प्रतिशत घट्यो । यस दिन सर्वाधिक मूल्य घट्ने १० कम्पनीमध्ये नौ कम्पनी जलविद्युत् समूहका नै रहे । तेह्रथुम पावर कम्पनी लिमिटेड र सामलिङ पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले घट्यो । समूहगत रूपमा सर्वाधिक रकमको कारोबार हुनेमा पनि जलविद्युत् समूहअन्तर्गतकै कम्पनीहरू रहे । अपि पावर सर्वाधिक रकमको कारोबार हुनेमा पहिलो छ भने अरुणभ्याली हाइड्रोपावर दोस्रो नम्बरमा छ । अपि पावरको १६ करोड ९ लाख ९९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अरुणभ्याली हाइड्रोको १४ करोड ९४ लाख ५२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । जलविद्युत् समूहअन्तर्गतका ४५ सूचीकृत कम्पनीको १ अर्ब ६२ करोड १० लाख ७३ हजार रुपैयाँ बराबरको ३४ लाख ४ हजार ३१३ कित्ता शेयर कारोबार भएको छ । जलविद्युत् समूहको कुल कारोबारमा ४४ दशमलव २९ प्रतिशत अंश रहेको छ । फागुन १५ गते प्रतिनिधि सभाबाट अनुमोदन भएको एमसीसी सम्झौताबाट आगामी ५ वर्षभित्रमा विद्युत् प्रसारण लाइन र सडक निर्माण गर्ने कार्यक्रम छ । नेपालले एमसीसीमार्फत प्राप्त गर्ने अनुदानमध्ये करीब ४५ अर्ब रुपैयाँ विद्युत्को अन्तरदेशीय प्रसारण लाइन निर्माणमा खर्च हुने मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले जानकारी दिएको छ । एमसीसी सम्झौताअन्तर्गतको अधिकांश अनुदान विद्युत् क्षेत्रमै लगानी हुने भएकाले यसले जलविद्युत् क्षेत्रका कम्पनीहरूको शेयरमूल्यमा सकारात्मक प्रभाव पर्ने अनुमान लगानीकर्ताले गरेका थिए । पछिल्लो समय सर्वाधिक कारोबार हुँदै आएको जलविद्युत् समूहका कम्पनीहरूको शेयरमूल्य एमसीसी पारितपछि बढ्दा यसले समग्र बजार नै माथि लैजाने अनुमान विश्लेषकहरूको थियो । शेयर लगानीकर्ता एवम् नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले एमसीसी पारित भए पनि लगानीकर्ता उत्साहित हुन नसक्नुको पछाडि यसअघिका नीतिगत परिवर्तन रहेको बताए । एमसीसी र यसले बजारमा पार्ने प्रभावका विषयमा धेरैजसो लगानीकर्ता अन्योलमै रहेकाले बजार सकारात्मक बन्न नसकेको उनको प्रतिक्रिया छ । मौद्रिक नीतिको समीक्षा, बैंक तथा वित्तीय संस्थामा देखिएको लगानीयोग्य पूँजीको अभाव र ब्याजदर बढेका कारण उदास बनेका लगानीकर्ता एमसीसी पारित भएपछि पनि उत्साहित बन्न नसकेको रौनियारको विश्लेषण छ । अर्का शेयर लगानीकर्ता केशव कोइरालाले एमसीसी सम्झौतासँग जलविद्युत् कम्पनीको शेयर कारोबारलाई जोड्न नहुने बताउँछन् । केही समयदेखि एमसीसी सम्झौतालाई जोडेर जलविद्युत् कम्पनीको शेयरमूल्य बढाउने काम भएको आरोपसमेत उनले लगाए । पछिल्लो समय कारोबारको सर्वाधिक अंश ओगट्दै आएको जलविद्युत् कम्पनीको शेयर विक्री चाप एकैपटक परेकाले यो समूहका लगानीकर्ताले सर्वाधिक गुमाउन पुगेको कोइरालाको भनाइ छ ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो, ३ अर्ब २ करोड बराबरको शेयर खरीदविक्री

फागुन ४, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १९ दशमलव ८४ अंकले घटेको छ ।  यो दिन नेप्से परिसूचक २७३४ दशमलव ४४ विन्दुमा झरेको हो ।  यो दिन कारोबारमा आएका २३१ ओटा धितोपत्रको ५६ लाख ५२ हजार १८२ कित्ता शेयर ३९ हजार ६६८ पटकमा रू. ३ अर्ब २ करोड  ६३ लाख ३० हजार ७८४ दशमलव १४  मा खरीदविक्री भएको छ ।  यो दिन कारोबारमा आएका २३१ ओटा धितोपत्रमध्ये गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा बढी ३ दशमलव ४४ प्रतिशत वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ३५५ पुगेको छ । त्यसैगरी, दोस्रोमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ३ दशमलव २३ प्रतिशत वृद्धि भएर रू. ६४० पुगेको छ  ।  बुधवार सबैभन्दा बढी बुद्धभूमि नेपाल हाइड्रोपावरका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ५ दशमलव ६९ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६४६ कायम भएको छ । शेयरमूल्य घट्ने दोस्रोमा मैलुङखोला जलविद्युत् कम्पनी रहेको छ । कम्पनीको शेयरमूल्य ५ प्रतिशत घटेर रू. ५७० मा झरेको छ ।  त्यसैगरी, बुधवार सर्वाधिक शेयर खरीदविक्री अपि पावर कम्पनीको भएको छ  । कम्पनीको रू. २१ करोड १४ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५२३ कायम भएको छ । त्यसैगरी, दोस्रोमा नेशनल हाइड्रोपावर कम्पनीको रू. १७ करोड ७८ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये अन्य समूहको परिसूचक शून्य दशलमव ४४ प्रतिशत र जीवन बीमा समूहको शून्य दशलमव १४ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो । समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको शून्य दशमलव ३ प्रतिशत, व्यापार समूहको १ दशमलव ४७ प्रतिशत, होटल एण्ड टुरिजम समूहको १ दशमलव शून्य ८ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ८४ प्रतिशत, हाइड्रोपावर समूहको २ दशमलव १८ प्रतिशत, वित्त समूहको १ दशमलव ८१ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ८५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ३६ प्रतिशत, लघुवित्त समूहको शून्य दशलमव ७७ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशलमव ४५ प्रतिशत लगानी समूहको परिसूचक १ दशमलव ६८ प्रतिशतका दरले घटेको हो ।  बुधवार राजनीतिक प्रभावले पनि शेयर बजारलाई असर पारेको जस्तो देखिएको छ । सोही कारण नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । तर यस्तो प्रभाव भने अल्पकालिन रुपमा मात्र देखिने लगानीकर्ताहरु बताउँछन् ।  केहि दिनयता एमसीसी परियोजनाको कारण नेपालको राजनीति अस्थिर बनेको छ । एमसीसी संसदबाट पास गर्ने–नगर्ने अन्यौलका बीच शेयर लगानीकर्ता समेत पर्ख र हेरको अवस्थामा रहँदा बजार ओरालो लागेको देखिन्छ ।

२९०० विन्दु मुनि नेप्से, ६ अर्ब २ करोड बराबरको शेयर खरीदविक्री

माघ ५, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३८ दशमलव ३५ अंकले घटेको छ । नेप्से परिसूचक २ हजार ८९८ दशमलव ३१ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२८ ओटा धितोपत्रको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर ८४ हजार २३३ पटकमा रू. ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ दशमलव शून्य ३ खरीदविक्री भएको छ । अघिल्लो कारोबार दिन मंगलवार भने ८ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यो दिन कारोबारमा आएका ती धितोपत्र मध्ये दुई ओटा धितोपत्रको मूल्य उच्च दरमा वृद्धि भएको छ । यो दिन बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९७ प्रतिशत र सामलिङ पावर कम्पनीको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशतका दरले वृद्धि भएको छ । बुद्धभुमि नेपालको शेयरमूल्य प्रतिकित्ता रू.२८७ दशमलव ८० र सामलिङ पावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.७१४ पुगेको छ ।  उता यो दिन सबैभन्दा बढी घलेम्दी हाइड्रोपावरका शेयरधनीले गुमाएका छन् ।कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ४ दशमलव ३४ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.३५३ मा झरेको छ । त्यसैगरी कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यो दिन ४ दशमलव २३ प्रतिशत घटेर रू.१ हजार ३११ दशमलव १० कायम भएको छ । बुधवार सर्वाधिक शेयर खरीदविक्री भने अपि पावर कम्पनीको भएको छ । उक्त कम्पनीको रू. २० करोड ३२ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५४४ कायम भएको छ । कम्पनीको मंगलवार पनि सर्वाधिक शेयर खरीदविक्री भएको थियो । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेकाले पनि सर्वाधिक शेयर खरीदविक्री भएको हो । त्यसैगरी दोस्रोमा अरुण भ्याली हाइड्रोपावरको रू.२० करोड ७ लाख ३९ हजार बराबरको शेयर खरीदविक्री भएको छ । बुधवार पनि नेप्सेमा करेक्सन आएको छ । लगातार केहि दिनदेखि बढेको बजारमा कारोबारीहरुले नाफा बुक गरेकाले करेक्सन आएको हो । छोटो समयममा नै नेप्से परिसूचक लगभग ७०० अंकले बढेको छ । सोही कारण पनि बजारमा करेक्सन आएको हो । यस अवधिमा अल्पकालिन लगानीकर्ता तथा कारोबारीहरुले राम्रै प्रतिफल प्राप्त गरेका छन् ।   लगातारजसो बढेको बजारमा करेक्सन आउनुलाई बजार विश्लेषकहरुले सामान्य भएको बताएका छन् । करेक्सनपछि बजार थप सबल र स्वस्थ हुने उनीहरुको भनाइ छ ।