असोज २२, काठमाडौं । कोभिडका कारण लामो समय बन्द रहेको मनकामना केवुलकारमा यति बेला यात्रुको चाप बढ्दै गएको छ ।
गत भदौ २३ गतेदेखि सञ्चालनमा आएको केवलकारमा नौरथा लागेसँगै यात्रुको चाप बढेको हो ।
मनकामना दर्शन प्रालिका सहायक महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार बिहीवार केवलकार यात्रा गर्नेको संख्या दुई हजार ३०० रहेको थियो ।
खुलेको पहिलो दिन भदौ २३ गते ५०० हाराहारी रहेको संख्या क्रमशः बढ्दै गएको हो । गएको वैशाख १६ गतेदेखि केवलकार बन्द रहेको थियो ।
कोभिडका कारण ठूलो नोक्सान बेहोर्नुपरेको शेरचनले बताए । विगतका वर्षमा यात्रुको चाप हुँदै गर्दा एकै दिन आठ हजार ८०० सम्म यात्रुले केवलकार चढेको तथ्यांक छ ।
चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारस्थित चेरेसमा केवलकारको मुख्य स्टेशन छ । त्यहाँबाट गोरखाको मनकामनामा केवलकार चढेर मन्दिरको दर्शन गर्न भक्तजन जाने गर्दछन् ।
भारतीय पर्यटक आइनसकेकाले संख्या धेरै बढेको छैन । भारतीय पर्यटक आएसँगै यो संख्या बढेर जाने शेरचनले बताए । रासस