नेपाल स्टक एक्सचेन्ज नेप्सेले सुचिकृत कम्पनीहरुलाई बार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले वार्षिक नवीकरण शुल्क बुझाउन बाँकि कम्पनीहरुलाई असोज मसान्तसम्म शुल्क बुझाउन आग्रह गरेको हो । नेप्सेले नेप्सेमा सूचीकृत कम्पनीहरुले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष ०७८/७९ को धितोपत्रको बार्षिक नवीकरण शुल्क बुझाउने समय असोज मसान्त सम्म रहेकोले उक्त बार्षिक नवीकरण शुल्क बुझाउन बाँकी कम्पनीहरुलाई शुल्क बुझाउन आग्रह गरेको हो ।चुक्ता पूँजी ५० करोड सम्म भएका कम्पनीले धितोपत्रको बार्षिक नवीकरण शुल्क ५० हजार बुझाउनु पर्ने छ भने ५० करोड भन्दा माथि चुक्ता पुंजी भएका कम्पनीले १ लाख शुल्क बुझाउनु पर्ने छ । त्यस्तै डिबेन्चर र सामुहिक लगानी कोषको हकमा ५० करोड सम्म आकार भए २५ हजार र सो भन्दा बढीको आकार भए ५० हजार शुल्क बुझाउनु पर्ने छ ।नेप्सेले आफ्नो खाता रहेको ग्लोवल आईएमइ बैंकमा रकम बुझाउन आग्रह गरेको हो । तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने साथै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्न सकिने जनाएको छ ।