निजी क्षेत्रको सबैभन्दा ठूलो आन्तरिक हवाई सेवा प्रदायक बुद्ध एयरले वैशाख १८ देखि एकै पटक चारवटा अन्तरप्रदेश उडान सुरु गर्ने भएको छ । बुद्धका अनुसार त्यसमध्ये तीन उडान पोखरालाई केन्द्र बनाएर हुनेछन् । एउटा उडान भने भरतपुरबाट हुनेछ ।
कम्पनीको अन्तरप्रदेश उडान तालिकाअनुसार पोखरादेखि प्रदेश २ को सिमरा, प्रदेश १ को विराटनगर र लुम्बिनी प्रदेशको नेपालगञ्जमा उडान हुनेछ । त्यस्तै सोही दिनदेखि भरतपुरदेखि लुम्बिनीमा पनि उडान सुरु गर्ने कम्पनीले जनाएको छ । देशका अधिकांश आन्तरिक उडान काठमाडौँलाई केन्द्रित बनाएर भइरहेको अवस्थामा बुद्धले एकै पटक ठूलो सङ्ख्या अन्तरप्रदेश उडान सुरु गर्न लागेको हो ।