चितवनको खैरहनी नगरमा अनलाइन राजस्व भुक्तानी सेवा २० महीनापछि कार्यान्वयनमा

चितवन । जिल्लाको खैरहनी नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी सेवा २० महीनापछि कार्यान्वयन गरेको छ ।  २०७८ पुस २६ गते अनलाइनमार्फत राजस्व भुक्तानी सेवाको शुभारम्भ गरिए पनि सफ्टवेयरमा समस्या हुँदा यो सेवा कार्यान्वयन हुन सकेको थिएन ।  हाल सिस्टमको विकास गरी यो सेवा कार्यान्वयनमा ल्याइएको नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश चौधरीले जानकारी दिए । बिहीवार नगर प्रमुख शशीकुमार खनियाँले कर तिरेपछि यो सेवा कार्यान्वयनमा आएको हो । यो सेवाको जानकारी गराउने र प्रचारप्रसार गर्ने उद्देश्यले बिहीवार जनप्रतिनिधि र कर्मचारीका लागि अभिमुखीकरण कार्यक्रमसमेत गरिएको छ ।  नगरपालिकाले यो सेवालाई प्रभावकारी बनाउन सवै वडामा शिविर सञ्चालन गर्ने प्रमुख खनियाँले प्रतिबद्धता जनाए । यो सेवामार्फत जुनसुकै ठाउँबाट पनि राजस्व भुक्तानी गर्न सकिनेछ । यसले समय र खर्चको बचत हुनुका साथै सहज र पारदर्शीसमेत हुने नगरप्रमुख खनियाँको भनाइ छ ।  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले कर्मचारी थपेर व्ययभार बढाउनुभन्दा विद्युतीय माध्यमबाट गरिएको सेवा प्रवाह प्रभावकारी बन्ने बताए । यो सेवामार्फत बाहिरी जिल्लामा रहेका सेवाग्राहीलाई लाभ हुने उनको भनाइ छ ।  वेबसाइटमार्फत भुक्तानी भएपछि सेवाग्राहीको अद्यावधिक हुने र दोस्रो पटकदेखि मोबाइलबाटै राजस्व तिर्न सकिने नगरपालिकाले जनाएको छ ।  राजस्व बुझाएपछि यसको सन्देश इमेल र मोबाइलमा आउने छ । यो सेवा कार्यान्वयन भएसँगै करदाताले सम्पत्ति कर, मालपोत (भूमिकर), व्यवसाय कर, बहाल करलगायत कर, दस्तुर तथा सेवा शुल्क घरमै बसेर दाखिला गर्न सक्ने भएका छन् । साथै आफूले तिर्नुपर्ने करबारे जानकारीसमेत पाउन सक्नेछन् ।  करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणाली (ई–सेवा, खल्ती, फोन पेलगायत)बाट राजस्व तिर्न सक्ने चौधरीले जानकारी दिए । 

सम्बन्धित सामग्री

खैरहनी नगरपालिकाले शुरू गर्‍यो अनलाइन राजस्व भुक्तानी सेवा

चितवन (अस) । चितवनको खैरहनी नगरपालिकामा अनलाइन विद्युतीय प्रणालीबाट राजस्व तिर्न व्यवस्थाको शुरू भएको छ । यहाँका नगरवासीले अब घरमै बसेर राजस्व तिर्न पाउने सेवा नगरपालिकाले उपलब्ध गराएको हो । विद्युतीय भुक्तानीमार्फत राजस्व तिर्न सक्ने सेवा उपलब्ध गराउने जिल्लाका स्थानीय तहमध्ये खैरहनी पहिलो समेत बनेको हो । एक महानगरपालिका समेत रहेको चितवनमा सात पालिका छन् । अन्यमा यो सेवा हालसम्म शुरू भएको छैन । खैरहनी नगरपालिका सूचना तथा प्रविधि अधिकृत सुरेश चौधरीका अनुसार पहिलोपटक वेबसाइटमार्फत भुक्तानी भएपछि सेवाग्राहीको अद्यावधिक हुने र दोस्रो पटकदेखि मोबाइलबाटै राजस्व तिर्न सकिन्छ । सिफारिश बाहेकका राजस्व यो सेवामार्फत तिर्न सकिनेछ । राजस्व बुझाएपछि राजस्व तिरेको सन्देश ईमेल र मोबाइलमा आउने उनले जानकारी दिए । खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले विद्युतीय भुक्तानीको शुभारम्भ गर्दै यो सेवालाई प्रचारप्रसार गरेर अभियानका रूपमा नगरवासीमा पुर्‍याउनुपर्ने बताए । मेयर चौधरीले विज्ञान र प्रविधिले मान्छेको जीवनलाई सहज बनाउने भन्दै नगरपालिकाको सेवा सुविधा र सुशासन कायम गर्न यो प्रविधिले मद्दत पुग्ने बताए । साथै, सेवाले शासन प्रणाली जनमुखी, सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बन्नुका साथै सार्वजनिक सेवालाई भरपर्दाे, सुलभ, गुणस्तरीय र पहुँचयोग्य बन्न सहयोग पुग्ने पनि मेयर चौधरीको भनाइ छ । खैरहनी–२ का वडाध्यक्ष एवं सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास समितिका संयोजक टीकादत्त इटनीको अध्यक्षतामा भएको सेवा शुभारम्भ कार्यक्रममा खैरहनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले राजस्व तिर्ने विषय महŒवपूर्ण भएकाले यो सेवाले नगरवासीलाई सहज हुने बताए । अहिले खैरहनीमा इलेक्ट्रोनिक सिस्टमबाट राजस्व तिर्ने व्यवस्था छ । केही दिनअघि मात्रै खैरहनी नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि आन्तरिक नियन्त्रण प्रणालीको समेत सेवा शुरू गरिसकेको छ । संघीय मन्त्रालयले गरेको स्वमूल्यांकन र सूचना प्रविधि लेखाजोखामा खैरहनी नगरपालिका जिल्लामा प्रथम भएको थियो ।