तेलको उत्पादन कटौती आगामी वर्षको सेप्टेम्बरसम्ममा अन्त्य गर्ने लक्ष्य

साउन ४, दुबई (संयुक्त अरब इमिरेट्स) । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र संगठनबाहिरका अन्य  प्रमुख तेल उत्पादकहरु (ओपेकप्लस)ले तेलको उत्पादन कटौती सन् २०२२ को सेप्टेम्बरसम्ममा अन्त्य गर्न सहमति गरेका छन् ।  आइतवार ओपेकप्लसले तेलको उत्पादन दैनिक ५८ लाख ब्यारेलले घटाउने विषयमा गरिएको सम्झौता सो अवधिसम्म समाप्त गर्नेबारे सम्झौता गरेका हुन् । समन्वित रुपमा तेलको उत्पादन कटौती खुकुलो बनाउने यो सम्झौता अगष्टदेखि शुरु हुने एक विज्ञप्तिमा ओपेकले भनेको छ । सो अवधिदेखि मासिक आधारमा समग्र उत्पादन दैनिक ४ लाख ब्यारेललका दरले बढ्नेछ ।  विश्वको अधिकांश हिस्सामा आर्थिक पुनर्बहाली जारी रहेकोले विश्वव्यापी तेलको मागमा सुधारको स्पष्ट संकेत देखिएको र ओईसीडीको तेल सञ्चिति पनि घटिरहेको ओपेक प्लसको १९ औं मन्त्रीस्तरीय बैठकमा बताइएको छ । यस वर्षको अहिलेसम्मको अवधिमा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ ४३ प्रतिशतले बढेको छ ।  गत वर्ष यही समयतिरको तुलनामा यसको भाउ ६० प्रतिशतभन्दा धेरै माथि छ । सन् २०२१ को अर्धवार्षिक अवधिमा तेलको भाउ प्रतिब्यारेल ८० ब्यारेलमा पुग्ने अपेक्षा गरिएको छ । शुक्रवार बजार बन्द हुँदा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ७३ डलर ५९ सेन्टमा आएर बन्द भएको थियो । एजेन्सी