जिल्लामा मौरी पालनतर्फ किसान आकर्षित हुन थालेका छन् । अन्य व्यवसाय भन्दा यो व्यवसाय गर्न सहज हुने र थोरै लगानीबाट पनि मौरीपालन व्यवसाय सुरु गर्न सकिने भएकाले मौरीपालनतर्फ नवलपरासी पूर्व (नवलपुरका ) किसान आकर्षित भएका हुन् ।
करिब २५ वर्षअघिदेखि यस क्षेत्रका किसान व्यवसायिक रुपमा मौरीपालनमा लागेका हुन् । अहिले नवलपुरमा मात्रै दुई सय किसान मौरीपालनमा लागेको नेपाल मौरीपालक महासंघ नवलपुरका अध्यक्ष यदुनाथ कंडेलले जानकारी दिनुभयो ।
जिल्लाका आठवठा स्थानीय तहमध्ये देवचुली नगरपालिकामा मौरीपालन व्यवसाय राम्रो रहेको छ । कृषि ज्ञान केन्द्र तनहँुले गतवर्षबाट देवचुली नगरपालिकामा मौरीपालन पकेट क्षेत्र बिस्तार कार्यक्रम सञ्चालन गरेपछि यस व्यवसायमा नयाँ कृषक थपिएका छन् । पहिलो वर्षमा नै मौरीपालन व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएपछि थप भएका नयाँ किसानहरु निकै हौसिएको अध्यक्ष कंडेलले बताउनुभयो ।