कर्णाली प्रदेश सरकार : कोरोनाबाट मृत्यु भएकाको परिवारलाई १ लाख दिने घोषणा

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई जनही १ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले संक्रमणबाट मृत्यु भएकाको परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री एवं प्रवक्ता विमला केसीले कोरोना संक्रमणबाट मृत्यु भएका प्रदेशका नागरिकको परिवारलाई राहतस्वरूप १ लाख रकम प्रदान गर्ने निर्णय गरिएको बताइन् । ‘विषयगत मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध बजेटबाट कोषमा ५० करोड बजेट रकमान्तरण गरिएको छ,’ उनले भनिन्, ‘उक्त रकम कोभिड–१९ सँग सम्बन्धित समस्या समाधानका लागि खर्च गरिनेछ ।’ अक्सिजन सिलिण्डर र अक्सिजन आपूर्ति गर्न प्रदेशका सबै जिल्लाका अस्पताललाई एक/एक करोड दिने निर्णय समेत मन्त्रिपरिषद्को बैठकबाट गरेको जानकारी उनले दिइन् । यस्तै प्रदेश सरकारले अस्पताल भर्ना भएका कोरोनाका बिरामीलाई पौष्टिक खाना खुवाउन दैनिक ४ सयदेखि ६ सय रुपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । ‘हुम्ला, मुगु र डोल्पाका बिरामीलाई ६ सय रुपैयाँ, कालीकोट र जुम्लाका बिरामीलाई ५ सय रुपैयाँ र अन्य जिल्लाका बिरामीलाई खानाका लागि दैनिक ४ सय रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ,’ प्रवक्ता केसीले भनिन्, ‘बैठकले कोभिडका बिरामीका लागि प्रदेश अस्पतालमा ५ सय बेड तयार गर्ने निर्णय पनि गरेको छ ।’ अक्सिजन सहितका १ सय बेड तत्काल सञ्चालनमा ल्याउन र ३ सय बेडको तयारीका लागि प्रिफ्याबको हल बनाउन नेपाली सेनालाई जिम्मा दिने निर्णय भएको समेत प्रवक्ता केसीले जानकारी दिइन् । उनका अनुसार प्रदेशभर कार्यरत स्वास्थ्यकर्मीमध्ये ७५ प्रतिशतलाई कोभिडको उपचारमा परिचालन गर्ने निर्णय गरिएको छ । यस्तै कालीकोट, दैलेख, रुकुम पश्चिम, जाजरकोट र सल्यानका जिल्ला अस्पतालमा अक्सिजनसहित एक सय बेड र हुम्ला, मुगु र डोल्पामा अक्सिजनसहित ५० बेड तयार गर्ने निर्णय भएको छ ।

सम्बन्धित सामग्री

कोरोनाबाट मृत्यु भएका परिवारले पाए राहत

जाजरकोट । जाजरकोटमा कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका परिवारकालाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासान कार्यालय जाजरकोटले कोभिडबाट ज्यान गुमाएका मृतकका परिवारलाई राहात वितरण गरेको हो । सरकारले कोरोना भाइरसका कारण मृत्यु भएकाका परिवारलाई दिने भनेको राहत रकम जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्राप्त […]