पर्वत (अस) । आठ दिनदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी रूपमा खुला भएको छ । भदौ १७ गते राति वर्षासँगै आएको पहिरोले रोकिएको सडक बिहीवारदेखि एकतर्फी रूपमा सञ्चालन भएको पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।
कुश्मा नगरपालिका–७ खरेयादेखि मोदी गाउँपालिका–५ अम्बोटसम्म पहिरोले सडक खराब भएको छ । सुरक्षाकर्मीहरूको लामो प्रयासले सडकको अवरोध खुलाउन सम्भव भएको पनि खत्रीले बताइन् ।
सडकमा झरेको पहिरो पन्छाएर एकतर्फी मात्रै गाडी गुड्न मिल्ने बनाइएको प्रजिअ खत्रीको भनाइ छ । लोकमार्गमा २० स्थानमा पहिरोले बाटो रोकिएको थियो । पहिरोले मध्यपहाडी लोकमार्ग थुनिएपछि पर्वत, बागलुङ र मुस्ताङको सडक सञ्जाल पूर्णरूपमा ठप्प थियो । वैकल्पिक सडक नहुँदा यस क्षेत्रमा आवतजावत र खाद्यान्न, अक्सिजन, इन्धन लगायत सामग्रीको आपूर्ति प्रभावित बनेको थियो । बिरामीलाई हेलिकोप्टर चार्टर गरी अस्पताल लैजानुपर्ने बाध्यता थियो । ठूल्ठूला ढुंगासहितको पहिरो पन्छाउन डोजरले मात्रै नसकेपछि सेनामार्फत बम विस्फोट गराइएको थियो । पहिरो पन्छाउन १३५ केजी विस्फोटक पदार्थ र ७५ थान डेटोनेटर प्रयोग गरिएको केवलजंग गुल्म कुश्माका सेनानी शमशेरबहादुर सिंहले बताए ।
निर्माणाधीन यो लोकमार्गमा सामान्य वर्षा हुँदा पनि पहिरोले बाटो रोकिँदै आएको छ । भदौ १७ गते राति चुवाको भीर, दोबिल्ला, भ्याप्लेखोला, मौरीभीर लगायत स्थानमा पहिरोले सडक पुरिँदा जनजीवन प्रभावित भएको थियो ।