हिमालयन बैंकसँग मर्जर प्रस्ताव पारितका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले बोलायो विशेष साधारण सभा

पुस १४, काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले माघ ४ गते विशेष साधारण सभा बोलाएको छ ।  कम्पनीको पुस ११ गतेको सञ्चालक समितिको बैठकले दरबारमार्गस्थ्ति केन्द्रीय कार्यालयमा विहान ११ बजे सभा बोलाएको हो । सभाले हिमालयन बैंक लिमिटेडसँगको मर्जर प्रस्ताव पारित गर्नेछ ।  यी दुई कम्पनी बीच भएको मर्जर सम्बन्धी अन्तिम सम्झौता पत्रलाई सभाले अन्तिम रुप दिनेछ । यी दुई कम्पनी एक बराबर एक शेयर आदानप्रदान गर्ने गरी मर्जरमा जान लागेका हुन् ।  विशेष साधारण सभाले मर्जर प्रक्रिया सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत गर्नेछ । मर्जर पश्चात बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड हुने निर्णय पनि सभाले गर्नेछ ।  मर्जर पश्चात संस्थापक तथा सर्वसाधारण शेयरको स्वामित्व परिवर्तन हुने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावसमेत सभाले पारित गर्नेछ । विशेष सधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । मर्जर प्रक्रियाका लागि बैंकको शेयर कारोबार भने रोक्का रहेको छ ।