विश्वका विभिन्न देशमा कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लगाउने थुप्रै खोपहरु उत्पादन भए पनि नेपालमा यस्ता सबै खाले खोपको भण्डार तथा वितरण गर्ने शीतभण्डार लगायतका उपकरणको अभाव छ ।
विभिन्न देशमा उत्पादन भई विश्व स्वास्थ्य संगठनले मान्यता दिएका खोपहरु सामान्यतया तीन प्रकारको तापक्रममा भण्डारण गर्नु पर्ने हुन्छ । त्यस मध्ये दुईदेखि आठ डिग्रीसेल्सियससम्म भण्डारण गर्न मिल्ने उपकरण मात्र नेपालमा रहेको स्वास्थ्य सेवा विभागका बरिष्ठ फार्मेसिष्ट बढेबाबु थापाले जानकारी दिनुभयो ।
दाताहरुले अन्य दुई प्रकारका तापक्रममा भण्डारण गर्नु पर्ने खोप उपलब्ध गराए पनि उपकरण अभावले लिने अवस्था नरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार माइनस १५ देखि २५ डिग्रीसेल्सियस र माइनस ६० देखि ८० डिग्रीसेल्सियस तापक्रममा भण्डारण गर्नु पर्ने खोपको उपकरण नहुदाँ खोप आयतमा समस्या हुने गरेको छ ।