दशैंमा नोटको सुरक्षा गर्न आकर्षक ‘खाम’

दशैंमा रातो टीका र जमरा लगाउँदा मान्यजनहरूले आर्शिवादसँगै छोरीचेली, भान्जाभान्जी, ज्वाइँचेलालाई दक्षिणास्वरूप नगद समेत दिने प्रचलन छ । दक्षिणा दिने हाम्रो परम्परा डिजिटल युगले जति फड्को मारे पनि तत्काल हट्ने देखिँदैन । तर रातो टीका लगाइदिने हातले नगद नोट पनि चलाउँदा नोट बिग्रिन्छन् । त्यसकारण राष्ट्र बैंकले नोट सफा राख्न अनुरोध गर्दै सूचना जारी गर्छ । नोट कसरी सफा राख्ने त ? नोट सफा राख्ने धेरै उपायमध्ये एउटा हो, नोटलाई खामभित्र राखेर दक्षिणा दिने । यसका लागि उपयुक्त विभिन्न किसिमका खाम बजारमा पाइन्छन् । आकर्षक खाममा राखेर दक्षिणा दिँदा दक्षिणा पाउने बढी खुशी हुने वातावरण बन्न सक्छ । अलिकति खोजी गरेमा नेपाली बजारमा पारदर्शी, झ्याल भएका र रङीचंगी खाम पाइन्छन् । यस्ता खाम अनलाइनबाटै पनि खरीद गर्न सकिन्छ, जसबारे यहाँ केही चर्चा गरिएको छ : चमकदार रातो खाम  यो खाम बजारमा सहजै पाउन सकिन्छ । साथै ई–कमर्श साइटहरूबाट समेत किन्न सकिन्छ । तर यस्तो खाम तुलनात्मक रूपमा केही महँगो पर्छ । एउटै खामको मूल्य रू. १०० पनि पर्छ ।   गणेश अंकित खाम यस्तो खाम पनि बजारमा सहजै पाइन्छ । तर यो झन् महँगो छ । यो खाम अनलाइन शपिङ गर्दा एउटैको ४०० रुपैयाँ पर्छ । सगुन खाम सगुन खाम विशेषगरी विवाह, पूजाआजा, चाडपर्वमा प्रयोग गरिन्छ । दशैंमा पनि यसको प्रयोग गर्न सकिन्छ । यो खाम विभिन्न रंङहरूमा बजारमा उपलब्ध छन् । यसको मूल्य ५० रुपैयाँ पर्ने गरेको छ । क्रीम खाम यो खाम सेतो, रातो, नीलो, पहेँलो जस्ता विभिन्न रङमा सादा हुने भएकाले यसको नाम ‘क्रीम’ खाम भनिने गरिएको हो । यो खामलाई चाडपर्वमा प्रयोग गर्न सकिन्छ । साधारण तर चारकोण मिलेको भएकाले यो खामलाई आकर्षक मानिने गरिएको छ । २५ पिस खामलाई अहिले बजारमा दशैं अफर भन्दै २२५ रुपैमाँ अनलाइन शपिङले विक्री गरिरहेका छन् । नेपाली कागजका खाम नेपाली कागजमा नै बनेका खाम बजारमा प्रशस्त पाउन सकिन्छ । ती खाम विभिन्न रङ, चित्र, आकृतिहरूमा उपलब्ध छन् । यस्ता तीनओटा खामको मूल्य १३५, चारओटाको १८० रुपैयाँमा पाउन सकिन्छ । आफूले दिएको दक्षिणा खामभित्रै रहे पनि बाहिरैबाट देखियोस् भन्ने चाहना हो भने पूरा पारदर्शी खाम पनि पाइन्छन् । खामभित्र के छ भन्ने थाहा पाउन सकिने तर पूरै पारदर्शी पनि नभएको खाम चाहिने हो भने झ्याल भएको खाम पनि पाइन्छ । झ्याल भएको खाम विभिन्न संस्थाले पत्राचारमा पनि प्रयोग गर्छन् । सफा नोटमा राष्ट्र बैंकको साँच्चै चासो हो भने नयाँ नोट सटही गर्दा नै राष्ट्र बैंकले सर्वसाधारणलाई खाम पनि दिने गर्नु उपयुक्त हुन्छ, सित्तैमा वा सहुलियत मूल्यमा । नोटको सुरक्षामा राष्ट्र बैंकको चासो नोटको सुरक्षामा राष्ट्र बैंकले चासो देखाएको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल चाडपर्वको बेला नोटलाई सुरक्षित तवरले प्रयोग गर्न खामदेखि वालेटसम्मको प्रयोग गर्न सकिने सुझाउँछन् । उनका अनुसार नोट सबैको सम्पत्ति भएकाले नोटलाई जतनसाथ प्रयोग गर्नुपर्छ । नोटको जतन गर्न ‘मनीब्याग’को प्रयोग गर्नुपर्छ । नोटमा केरमेट गर्नुहुँदैन, नोटलाई मैलो पार्ने कुनै काम गर्नुहुँदैन । सुकिला नोटको प्रयोग गर्ने बानी बसाल्नुपर्छ । कारोबारको भुक्तानी दिँदा यथाशक्य विद्युतीय माध्यम, कार्ड वा ई–वालेटको प्रयोग गरेमा नोटको जतन हुन सक्छ । नोटमा टाँचा वा स्टिच लगाउँदा नोट च्यातिने तथा स्टिच निकाल्न गाह्रो हुने र नोटको आयुसमेत घट्ने हुँदा यस्तो कार्य गर्नुहुँदैन । धार्मिक अनुष्ठान वा सामाजिक कार्य गर्दा नोटमा रङ, पानी, दूध, रगत पर्ने सम्भावना हुने हुँदा यसबाट जोगाउन बरु खामको प्रयोग गर्ने, दान पेटिकामा खसाल्ने वा रसिद लिई चन्दा दिने गर्नुपर्छ । प्रस्तुति : विजय दमासे

सम्बन्धित सामग्री

विजयादशमी : नगद दक्षिणा कि डिजिटल दक्षिणा ?

असोज २९, काठमाडौं । बडादशैंको मुख्य दिन विजयादशमी शुक्रवार मान्यजनका हातबाट टीका,जमरा लगाएर मनाइदैंछ ।   दशैं भन्नेबित्तिकै नयाँ नोट सम्झन्छौं । दशैंमा टीका लगाउँदा दक्षिणाको रूपमा नयाँ नोट दिने प्रचलन छ। दशैंमा नयाँ नोट नै चाहिन्छ भन्ने छाप पनि परेको छ । नेपाल राष्ट्र बैंकले पनि दशैंको मौका पारेर प्रत्येक वर्ष बजारमा ठूलो मात्रामा नयाँ नोट पठाउने गरेको छ । तर पछिल्ला केहि वर्षदेखि डिजिटल दक्षिणाको अवधारणा तिव्र रुपमा विकास भइरहेको छ । त्यसो त यो वर्ष कुमारी बैंकलगायत विभिन्न बैंकहरुले बडादशैंमा ‘डिजिटल दक्षिणा’अभियान ल्याएका छन् । कोरोना माहामारीले निम्त्याएको आफन्तजन बीचको बाध्यात्मक दूरीलाई माया र आशीर्वाद, डिजिटल आदानप्रदान मार्फत कम गरी परिवार बीचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्यले उक्त अभियान ल्याएको कुमारी बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले बताए । चाडपर्वमा टिका, रङ्ग तथा अन्य कारणले नोटहरु बिग्रन सक्ने सम्भावना रहेकाले डिजिटल दक्षिणाले कम गर्ने  कम्पनीका डिजिटल बैंकिंग प्रमुख अनिष ताम्राकारले बताए । यस अभियान अन्तर्गत बडादशैंमा पाँच दिन (विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म), दिपावलीमा लक्ष्मी पूजादेखि भाईटिकासम्म तथा छठ पर्वको दिन कुमारी बैंक स्मार्ट मोवाइल बैंकिङ एपमा भएको डिजिटल दक्षिणामार्फत् गरिएको अन्तर बैंक रकमान्तरमा लाग्ने सेवा शुल्क, क्यासब्याकमार्फत ग्राहकलाई फिर्ता गर्ने सुविधा कम्पनीले दिने छ । कुमारी बैंकले  मात्र नभई अन्य बैंकहरुले पनि यो वर्ष डिजिटल दक्षिणाको फ्रेमवर्क कार्यान्वयनमा ल्याएका छन् । बैंकहरुले दशैंमा नगदरहित डिजिटल दक्षिणा दिनेहरुलाई आकर्षक क्यास ब्याक उपहार दिने घोषणा गरेका छन् । तर यसरी दक्षिणा दिंदा मोबाइल बैंकिङ एप मार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने, कारोबारको विवरणमा दक्षिणा राख्नुपर्ने हुन्छ । यस वर्षको दशैंमा करीब ५० अर्ब रुपैयाँ बराबरको नयाँ नोट नेपाल राष्ट्र बैंकबाट बाहिरिएको छ  । केन्द्रीय बैंकले पाँच, १०, २०, ५० र १०० रुपैयाँ दरको नयाँ नोट बजारमा बितरण गर्न छुट्याउने गर्दछ । हुन त दशैं र नयाँ नोटको कुनै सम्बन्ध छ र ? यस्ता प्रश्न पनि यदकदा गर्ने गरिन्छ । यसको उत्तर सोझोरुपमा भन्ने हो भने वास्तवमा छैन नै । दशैं र नयाँ नोटको सम्बन्ध भनेको नयाँ कपडा र दशैं भनेजस्तै मात्र हो, जसको एक आपससँग खासै केही सम्बन्ध छैन । केन्द्रीय बैंकले नोट छपाइ, वितरण तथा व्यवस्थापनमा वार्षिक करी ३ अर्ब रुपैयाँ खर्च गर्ने गरेको छ । नयाँ नोटको माग बढेअनुसार यस्तो खर्च पनि बढ्छ । यसले राष्ट्रको व्ययभार बढाउँछ । नोटको आयु कति वर्ष हुन्छ भन्ने यकिन नभएता पनि जतन साथ प्रयोग गरे धेरै वर्षसम्म टिकाउन सकिन्छ ।  हुन पनि हो, दशैंमा नयाँ नोट प्रयोग गर्दा अबिर तथा टिका लाग्छ । दक्षिणाको रुपमा दिंदा त अबिर टिकादलेर दिने प्रचलन छ । नोटमा अबिर तथा टिका लागेपछि नोटको आयु कम हुन्छ । र झुत्रो हुने गर्दछ। नोटको सुरक्षा गर्नुपर्छ भन्ने चेतना कम भएकाले नेपालमा छोटो समयमै नोट काम नलाग्ने अवस्थामा पुग्ने गरेको छ ।  अझ भन्ने हो भने नगद दक्षिणा हराउने या चोरी हुने डर त छँदैछ । नगदरहित डिजिटल दक्षिणा चोरी हुने त कुरै भएन । यस कारण पनि दशैंमा  मात्र हैन अन्य पर्वमा पनि अव दक्षिणाको सट्टा डिजिटल दक्षिणालाई प्राथमिकता दिनु पर्ने अवस्था आएको छ । डिजिटल दक्षिणा अभियानलाई नेपालमा अगाडि बढाउनको लागि केन्द्रीय बैंक तथा बैंक तथा वित्तीय संस्थाहरुले प्राथमिकताका साथ अगाडि बढाउनु आवश्यक रहेको विज्ञहरु बताउँछन् ।उनीहरुका अनुसार डिजिटल दक्षिणाले मुलुकको आर्थिक भार कटौती गर्न मद्दत पुग्नुका साथै आर्थिक सुरक्षामा पनि टेवा पुर्‍याउँछ ।