जेठ भित्र स्थानीय तह निर्वाचन सम्पन्न गर्ने सत्ता गठबन्धनको निर्णय

सत्ता गठबन्धनको बैठकले जेठ महिना भित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नको लागि सरकारलाई सुझाव दिएको छ । आज २ चरणमा बसेको बैठकले जेठ भित्रमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको   सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर स्थानीयको मिति तोक्ने मन्त्री कार्कीले बताए । निर्वाचन कति चरणमा गर्ने भन्ने विषय सरकारले आयोगसँग परामर्श गरेर टुंगो लगाउने उनले बताए । त्यस्तै यदि ऐन संशोधन गर्नु पर्ने भए सो को लागि पनि प्रक्रिया अगाडी बढाउन बैठकले सुझाव दिएको छ। हिजो प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीक अध्यक्ष माधव नेपालबीच छलफल भएको थियो । हिजोको छलफलपछि आज २ चरणमा गठबन्धनको बैठक बसेको हो । नेपाल कांग्रेस भित्र नै ऐन संशोधन गरेर चुनाव सार्नु असंवैधानिक हुने भएकोले बैशाख मै चुनाव गर्न देउवालाई दबाब छ । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले पनि बैशाख मै स्थानीय तहको चुनाव हुनु पर्ने बताउदै आएको छ । निर्वाचन आयोगले बैशाख मै हुने गरि मिति तोक्न दबाब दिईरहेको छ । त्यस्तै राष्ट्रपति र प्रधानमन्त्री देउवाबीच छलफल हुँदा पनि बैशाख मै चुनाव गराउन राष्ट्रपतिले आग्रह गरेकि थिईन् । बैशाखमा  चुनाव नहुँदा स्थानीय तह जनप्रतिनिधिबिहिन हुने भएकोले आयोगले तत्काल चुनावको मिति तोक्न दबाब दिईरहेको छ  । यसरि चौतर्फी दबाबमा रहेको बेला सत्ता गठबन्धनको बैठकले जेठ भित्र नै निर्वाचन सक्न सुझाव दिएको हो।