बालुवाटार बैठकः एमसीसीका विषयमा देउवा र प्रचण्डका फरक कुरा, ओलीले भने, ‘पहिला क्लियर हुनोस्’

प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रमुख ३ नेताहरुबीचको बैठकमा एमसीसी के गर्ने भन्ने विषयमा बहस र छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच झण्डै २ घण्टा भएको छलफलमा एमसीसीकै विषयमा बढी कुराकानी भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदन गर्न प्रमुख प्रतिपक्षी दल एमालेसँग सहयोग मागेका छन् ।बैठकका विषयमा जानकारी गराउँदै एमाले महासचिव शंकर पोखरेलले एमसीसीका सम्बन्धमा पहिला सत्तापक्ष ‘क्लियर’ हुनुपर्ने आफूहरुको भनाई बैठकमा राखेको बताए । उनले एमालेले एमसीसी के गर्ने भन्ने विषयमा पहिला सत्तामा रहेका दलहरुको स्पष्ट निर्णय आउनुपर्ने र सरकार स्पष्ट हुनुपर्ने अडानमा एमाले रहेको बताए । ‘प्रधानमन्त्रीको धारणा एमसीसी अगाडि बढाउनुपर्छ भन्ने थियो,’ पोखरेलले भने, ‘प्रचण्डको धारणा चुनावपछि मात्रै एमसीसीबारे विचार गर्ने कुरा प्रमुख प्रतिपक्ष सहितले संयुक्त रुपमा प्रस्ताव गरौं भन्ने रह्यो ।’ अध्यक्ष ओलीले बैठकमा सरकारले आफ्नो धारणा स्पष्ट बनाएपछि एमालेले धारणा बनाउने र अनिर्णित बनेर नबस्ने कुरा राखेको महासचिव पोखरेलले बताए । पोखरेलले स्थानीय तहको चुनाव समयमै हुनुपर्छ भन्ने अडान एमालेले राखेको र यसमा प्रधानमन्त्रीले सकरात्मक जवाफ दिएको पनि जनाएका छन् ।