मंगलवारदेखि प्रदेश १ मा डीएपी मल वितरण हुँदै

विराटनगर । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले प्रदेश १ का १३७ स्थानीय तह र प्रदेश २ का सप्तरी र सिराहा जिल्लामा मंगलवारदेखि डीएपी मल वितरण गर्ने भएको छ । त्यसका लागि कृषि सामग्री कम्पनी लिमिटेडका डिलरहरूलाई पत्राचार गरिँदै छ । मल लिन आउने पत्र प्राप्त भएपछि डिलरहरूले मल सम्बन्धित गाउँ पालिकासम्म पुर्‍याउनेछन् । डिलर नभएका स्थानमा स्थानीय किसान सहकारीमार्फत मल वितरण हुनेछ । दुई महीनादेखि विराटनगरमा रहेको कृषि सामग्रीको गोदाममा ७० हजार बोरा अर्थात् ३५०० टन मल स्टक थियो । यो टेन्डरमार्फत नेपाल सरकारले मगाएको मल हो । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका निमित्त प्रमुख कृष्ण लामिछानेले वितरणको आदेश आएकाले अहिले गोदाममा आएको ३५०० टन मल वितरणको प्रक्रिाय अघि बढाइएको बताए । अझै थप ३० हजार बोरा १५०० टन मल आउन बाँकी रहेको उनको भनाइ छ । संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट वितरणको अनुमति आएको र अहिले प्रदेशको कृषि मन्त्रालयले समेत वितरणका लागि सहजीकरण गरिदिएकाले वितरण प्रक्रिया अघि बढाइएको हो । पछिल्लो समय ठेकेदारको लापरबाहीले मल नआउँदा किसान मलविना नै बाली लगाउन बाध्य बनेका छन् । यस्तै सीमा क्षेत्रका किसानले भारतीय बजारमा पाउने कमसल मल प्रयोग गर्ने गरेका छन् । सुनसरीको झुम्काका किसान प्रदीप काफ्ले मकै छर्नुअघि नै डीएपी मल हालेर जोतेपछि मकैका लागि पोषण पुग्ने र मकैमा घोगा बढी लाग्ने बताउँछन् । सुनसरीको छिटाहाका किसान भुवनेश्वर यादवले ६ बिगाहामा छरेको मकै उम्रिसक्यो । अब सब ड्रेसिङका लागि डीएपी मल चाहिने बताउँछन् । गढी गाउँ पालिकाका किसान श्यामसुन्दर चौधरी पनि मल वितरण शुरू भएकोमा खुशी छन् ।