गरिबको ‘ढाड’मा बजारियो बालेनको ‘लौरो’

स्वतन्त्र उम्मेदवारीबाट काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित र्भका बालेन्द्र (बालेन) साह अहिले आलोचित बनेका छन् । दलहरुबाट वाक्क भएर स्वतन्त्र उम्मेदवारलाई महानगरको मेयरमा जिताएका महानगरबासीले नै अहिले बालेनको आलोचना सुरु गरेका छन् ।चुनावी अभियानमा बालेनको एउटा र्याप निकै चल्यो । ‘बलिदान’ शीर्षकको उक्त र्यापमा चर्चित गीत ‘गाई त बाँध्यो ढुंग्रोमा मोही छैन, गरिबको चमेली बोल्दिने कोही छैन’लाई बालेनले कोरसका रुपमा उतारेका थिए । तर, बालेन मेयरमा निर्वाचित भएपछि महानगरले गरिबमाथि प्रहार थालेको छ । महानगरले भिख माग्न नपाउने सूचना नै निकाल्यो । यो कदमको स्वागत नै भएको छ । किनकी, काठमाडौँका व्यस्त ठाउँमा भिख माग्न बस्नेहरु नेपाली मूलका छैनन् ।शुक्रबारको एउटा घटनाले भने मेयर बालेन निकै आलोचित बनेका छन् । बालुवाटार क्षेत्रमा ठेलामा मकै बेच्दै गरेकी महिलामाथि महानगर प्रहरीले ज्यादती गर्यो । लछापछार गरेर मकै र ठेला कब्जामा लियो । समाजिक सञ्जालमा महानगर प्रहरीको यो ज्यादतीको भिडियो भाइरल भयो ।फुटपाथमा ब्यापार गर्न पाइँदैन भनेर नगर प्रहरीले बेचिरहेको हरियो मकैसहित ठेला उठाएर गाडीमा हाल्न खोज्छन् । ती सिन्धुपाल्चोक घर भएर लामो समयदेखि मकै बेचेरै बालबच्चा हुर्काइरहेकी ती महिला नगर प्रहरीका सामू हात जोड्छिन्, विन्ती गर्छन्, अनेक अनुनय विनय गर्छिन् । आधा मकै बाटोभरी असरल्ल छरिन्छन् ।ती महिलाका श्रीमान गाडा र मकै छुटाउन नगर प्रहरीको गाडीको पछि पछि दौडिन्छन् । तर, त्यो सम्भव हुँदैन । गरिबको सामान उठाएकोमा गर्वानुभूति गर्दै नगर प्रहरी हुईकिन्छन् । महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटा फुटपाथ र सडकमा सामान नबेच्नु भन्दाभन्दै सडकमा ठेला राखेर ब्यापार गर्दा जुनसुकै बेला जफत बताउँछन् ।बालेन काठमाडौँको मेयरको स्वतन्त्र उम्मेदवार भएर पनि चुनाव जितेका व्यक्ति हुन् । उनको दल छैन, उनलाई दलको ह्वीप लाग्दैन, निर्देशन लाग्दैन । त्यसैले पनि उनीबाट धेरैले अपेक्षा गरेका थिए, गरेका छन् । चुनावी दौरानमा बालेन शाहको चुनाव चिन्ह थियो ‘लौरो’ । शुक्रबार महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यको दम्पत्तिमाथि महानगर प्रहरीले ज्यादती गरेपछि बालेनको लौरो गरिबको ढाडमा बजारिएको भन्दै आलोचना भईरहेको छ ।थप कारबाहीयी निमुखा दम्पत्तीमाथि महानगरको नगर प्रहरीले थप कारबाही गर्ने भएको छ । उनीहरुले नगर प्रहरीले घुस मागेको आरोप लगाएको र अगुल्टोले हानेको भन्दै नगर प्रहरीले थप कारबाही गर्ने बताएको हो ।बुधबार घुस माग्न आएपछि आफूले नगर प्रहरीलाई अगुल्टोले हानेको सीता आचार्यले नै भनेकी छिन् ।‘सरकारी कर्मचारीमाथि सडकमै हातपात भएको छ, हातपात गर्ने उनीहरुलाई कारबाही नगरेर के नमस्कार गर्नु पर्ने त ?’  नगर प्रहरी प्रमुख सापकोटाले कारबाही गर्ने संकेत गर्दै भने ।