काठमाडौं । सन् २०२३ को पहिलो ६ महीनामा विश्वका ५०० धनी व्यक्तिले आफ्नो सम्पत्तिमा ८५२ बिलियन डलर थपेका छन् ।
ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार प्रत्येक ५०० धनी व्यक्तिले विगत ६ महीनामा प्रतिदिन औसत १४ मिलियन डलर कमाएका हुन् । लगानीकर्ताहरूले केन्द्रीय बैंकको ब्याजदर वृद्धि, युक्रेनमा जारी युद्ध र क्षेत्रीय बैंकहरूमा भएको संकटको प्रभावलाई खारेज गरेपछि शेयर बजारमा कम्पनीको मूल्यमा छलाङ आएसँगै अर्बपतिहरूको सम्पत्ति पनि बढेको हो । कोभिडपछि अर्बपतिहरूका लागि यो ६ महीना सबैभन्दा राम्रो बनेको हो ।
६ महीनाको अवधिमा नै एस एन्ड पि ५०० इन्डेक्स १६ प्रतिशतले र Nasdaq १०० इन्डेक्स ३९ प्रतिशतले बढेको छ । ब्लूमबर्गका अनुसार ६ महीनाको अवधिमा सबैभन्दा बढी एलन मस्कले कमाएका छन् । मस्कले ६ महीनाको अवधिमा नै ९६.६ बिलियन डलर कमाएका हुन् ।
यस्तै ६ महीनामा सबैभन्दा बढी गुमाउने गौतम अडानी छन् । अडानीले ६ महीनामा नै ६०.२ बिलियन डलर गुमाएका हुन् ।
एजेन्सीको सहयोगमा