बिग्रेका सवारीलाई समयमै व्यवस्थापन गर्न नसक्दा राजमार्गमा दुर्घटनाको जोखिम बढेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बिग्रिएर रहेका धेरै सवारी समयमा नहटाउँदा दुर्घटनाको जोखिम बढेको हो । जिल्लाको दाउन्ने क्षेत्रमा बिग्रिएका सवारीका कारण झनै दुर्घटनाको जोखिम बढेको छ । साथै यस क्षेत्रमा बिग्रिएका सवारी समयमा नहटाउदा जामको समस्यासमेत हुने गरेको छ ।
दाउन्ने क्षेत्र अत्यधिक दुर्घटना हुने क्षेत्र भनेर चिनिन्छ । पहाडको उकालोओरालो, अप्ठेरो र घुम्ती धेरै हुँदा दुर्घटना बढी हुनेगर्छ । त्यसमाथि बिग्रेका सवारी छिट्टै व्यवस्थापन गर्न नसक्दा दाउन्ने क्षेत्रमा घण्टौँ जाम हुने समस्या हुँदै आएको छ ।
विनयी त्रिवेणी गाउँपालिकादेखि बर्दघाट नगरपालिकासम्मको १४ किलोमिटर क्षेत्रको दाउन्ने पहाडमा दैनिकजसो छ सात वटा सवारी बिग्रने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख मुनेन्द्र थापा बताउनुहुन्छ ।