भेडेटार फुड फेस्टिबल सम्पन्न : ५०% भन्दा बढी भारतीय पर्यटक

पुस २०, धरान । अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर बाह्य पर्यटकहरुलाई लक्षित गरि भेडेटारमा आयोजित फुड फेस्टिबलमा ५० प्रतिशतभन्दा बढी भारतीय पर्यटकहरु आएका छन् ।  होटल एसोसिएशन अफ भेडेटारले आयोजना गरेको तीन दिने नवौं फुड फेस्टिबलमा १५ हजारभन्दा बढी पर्यटक आएका थिए । ती मध्ये ५० प्रतिशत भारतीय पर्यटक रहेको आयोजकले जानकारी दिएको छ । आइतवार सकिएको फेस्टिबलमा बाह्य पर्यटकहरुको आगमन बढेपछि पर्यटन व्यवसायीहरु थप उत्साहित भएका छन् ।  भारतीय पर्यटकको आगमनले कोभिड महामारीपछि थला परेको पूर्वको पर्यटन उद्योगमा उत्साह थपिएको होटल एसोसिएशन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । उनले भने, ‘यसपाली भारतीय पर्यटकहरु पनि धेरै आए, अंग्रेजी नयाँ वर्ष उत्साहजनक रह्यो, कोभिडले थला परेको पर्यटनको लागि यो सुखद हो ।’ कोभिड महामारीको त्रास कम हुँदै गएकोले मानिसहरुलाई घुम्ने वातावरण बन्दै गएको व्यवसायीहरुको भनाइ छ । यसपाली नयाँ वर्ष नजिकिँदै गर्दा मौसमले पनि साथ दिएकोले पर्यटकहरुको आगमन बढेको हो । फेस्टिबललाई पहाडी क्षेत्रमा परेको हिउँले पनि सहयोग पु¥याएको छ । पहाडी क्षेत्रहरु हिले, चित्रे, तिनजुरे क्षेत्रमा परेको हिउँ हेर्न आएका पर्यटकहरु भेडेटारमै बास बसेका थिए ।  अध्यक्ष रुम्दालीले भने, ‘हिउँमा रमाउन पनि धेरै पर्यटकहरु आएका रहेछन्, हिउँमा रमाएर फर्कदा भेडेटारमा बास बसेको देखियो ।’ भेडेटारमा जिपलाइन, हेलि टुर, प्याराग्लाइडिङ जस्ता नयाँ प्रोडक्ट थपिएकोले पनि पर्यटकहरु आकर्षित भएका हुन् । तीन दिनमा ५० लाख बढी कारोबार भएको एशोसिएशनले जानकारी दिएको छ । भेडेटार घुम्न आउने पर्यटकहरुको लागि पाथीभारा देवी मन्दिर, शंखेश्वर महादेव र भेडेटार पार्क, थुम्किस्थित आत्माघर, नाम्जेको होम स्टे, सुर्योदय पार्क थुम्की, नमस्ते झरना, साँगुरीगढी, ओख्रे भ्यु टाँवर, राजारानीस्थित ध्वजे डाँडा, अजंगको वरको रुख लगायत पर्यटकीय गन्तव्यहरु छन् ।  पर्यटन व्यवसायी तथा होटल व्यवसायी महासंघका प्रदेश १ सचिव वासुदेव वरालले अंग्रेजी नयाँ वर्षमा पर्यटकहरुको आगमनले उत्साहित बनाएको बताउँदै ग्राहकहरुको कमी नभएको तर प्रोडक्ट तथा पर्यटकीय आकर्षणहरुको कमी देखिएको बताए ।