आज देशभर कोरोना नियन्त्रणको लागि के-कस्ता माग एवं निर्णयहरू भए ? कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति थाहा पाउनुहोस्। मुलुक एवं मुलुकबाहिर के-कस्ता राजनीतिक, आर्थिक,न्यायीक एवं शैक्षिक गतिविधिहरू भए ? एकसाथ एकैठाउँमा सम्पूर्ण खबरहरू पढ्नुहोस्।
सोमबार १,१५४ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६५,२७६ पुगेको छ भने मृत्यु हुनेको संख्या ४२७ पुगेको छ।
हालसम्म नेपालमा ४७,२३८ जना कोरोना संक्रमित निको भएका छन्।
=> New PCR Test : ९,५३३ => New Recovered : १,००५
सम्बन्धित :
कोरोना नियन्त्रणको सम्बन्धमा भएका माग एवं निर्णयहरू :
प्रतिनिधिसभा निर्वाचनमा पराजित वामदेव गौतमलाई त्यही अवधिमा राष्ट्रियसभामा मनोनित गर्ने काम गैरसंवैधानिक हुने दावी गर्दै सर्वोच्च अदालतमा दुई वटा रिट निवेदन दर्ता भएको छ। गौतमलाई सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय र मनोनित गर्ने राष्ट्रपति कार्यालयको निर्णय बदर हुनुपर्ने निवेदनमा दावी छ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशन बसेका डा. गोविन्द केसी सोमबार दिउँसो काठमाडौं हिँडेका छन्। अनशन बसेको आठौँ दिनसम्म सरकारी पक्षबाट माग सम्बोधनको कुनै पनि पहल सुरु नभएपछि पहिलेजस्तो आतंक र हिंसा हुने त्रासले अनशनमै काठमाडौं जाने निर्णय गरेका हुन्। डा. केसी सोमबार जहाजमार्फत नेपालगन्ज हुँदै काठमाडौं हिँडेका हुन्।
मोरङको बुद्ध माध्यमिक विद्यालयले पठनपाठन शुरु गरेको छ। केराबारी गाँउपालिका– ९ मा रहेको बुद्ध माध्यमिक विद्यालयले आइतबारदेखि पठनपाठन शुरु गरेको हो। दिनमा तीनदेखि चारवटा कक्षाका विद्यार्थीलाई बोलाएर मास्क, फेससिल्ड लगाएर पठनपाठन सुरु गरिएको प्रध्यानाध्यापक छवि धमलाले बताए।
१४औँ महाधिवेशनको तयारीका लागि बोलाएको केन्द्रीय समितिको बैठकका लागि कांग्रेसले कोभिड– १९ को पिसिआर टेस्ट अनिवार्य गरेको छ। बैठक आगामी १९ असोजमा पार्टी कार्यालय सानेपामा बोलाइएको छ।
मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिका– ३ स्थित झिल्किनीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने राक्सिराङनजिक मनहरी बजारबाट सामानका साथै यात्रु बोकेर झिल्किनी जाँदै गरेको ग.१ज ७१७५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको र एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले आठौँ राष्ट्रिय विज्ञान सप्ताह विभिन्न भर्चुअल कार्यक्रम गरी मनाएको छ। सरकारले हरेक वर्ष १ असोजलाई विज्ञान दिवस र १ देखि ७ गतेसम्मलाई विज्ञान सप्ताहका रूपमा मनाउने गरेको छ। कोभिड–१९ का कारण यस वर्ष विज्ञान दिवसमा समेत उल्लेख्य कार्यक्रम भएनन्।
सोमबार बसेको संसद्को विकास तथा प्रविधि समितिको बैठकले क्लिन फिड तोकिएअनुसार कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ। आउँदो ७ कात्तिकभित्र विज्ञापन बोर्ड गठन गरी विज्ञापन ऐनको पूर्ण कार्यान्वयन गर्न निर्देशन दिएको हो।
नेकपा सचिवालयको जारी बैठक मंगलबार सक्न अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड सहमत भएका छन्। मन्त्रिपरिषद् पुनर्गठनसहित सचिवालयमा प्रस्तावित एजेन्डाबारे ओली र प्रचण्डबीच सोमबार छलफल भएको हो। सोमबारको बैठक स्थगित गरेर ओली र प्रचण्डबीच छलफल भएको थियो।
एक बर्षको अन्तरमा दोस्रोपटक विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाईको अर्न्तराष्ट्रिय बोलपत्र सोमबार विधिवत रद्द भएको छ। बोलपत्रमा सहभागी ४ वटा अन्तर्राष्ट्रिय कम्पनीका केही कागजात अपुरो देखिएको र प्रकृयागत कमजोरी देखिएकाले प्रस्तावको प्राविधिक मूल्याङ्कन समितिले दिएको सिफारिसअनुसार अन्तर्राष्ट्रिय टेन्डर रद्द गरिएको हो।
बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ। सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय ‘हिउँचितुवा’ का नामले चिनिने आङरिताको बुधबार बौद्ध परम्पराअनुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ।
सुडान काउन्सिलका प्रमुख अब्देशल फताह अल-बुर्हान यूएई पुगेका छन्। उनले यूएईमा इमिरेट्स र अमेरिकी अधिकारीसँग छुट्टाछुट्टै वार्ता गर्ने बताइएको छ। सुडानी सञ्चारमाध्यम अनुसार अल-बुर्हानले सुडानलाई अमेरिकाको 'आतंकवादको प्रायोजन' गरेको मुलुकको सूचीबाट हटाउने विषयमा अमेरिकी अधिकारीहरुसँग छलफल गर्नेछन्।
भारतको महाराष्ट्रस्थित मुम्बई सहरमा तीन तले भवन भत्किँदा १० जनाको मृत्यु भएको छ। मानिसहरु सुतिरहेको समयमा सोमबार बिहान भवन भत्किएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। उक्त भवनभित्रै अझै २०-२५ जना फसेको हुनसक्ने अनुमान गरिएको छ ।
एचएसबीसी बैंकले घोटालाबारे खुलासा भएको थाहा पाए पनि उक्त कार्यमा संलग्न रहेकाहरूलाई विश्वभर लाखौं डलर पठाउन दिएको पाइएको छ। बेलायतको सबैभन्दा ठूलो बैंकले सन् २०१३ र २०१४ मा आफ्नो अमेरिकी व्यवसायमार्फत एचएसबीसीको हङकङस्थित खातामा रकम ट्रान्सफर गरेको थियो।
सम्बन्धित :
भारतमा कृषिसम्बन्धी विधेयकलाई लिएर विवाद उत्पन्न भएको छ। भारतको दुवै सदन लोकसभा र राज्यसभाबाट पारित भएको कृषि उपज व्यापार तथा वाणिज्य (संवर्द्धन एवं सरलीकरण) विधेयक २०२०, कृषक (सशक्तीकरण एवं संरक्षण) मूल्य आश्वासन तथा कृषि सेवा करार विधेयक २०२० प्रति विपक्षी भारतीय राष्ट्रिय कंग्रेस, तृणमूल कंग्रेसले मात्र नभई सत्तारूढ गठबन्धनकै साझेदार शिरोमणि अकाली दलले समेत चर्को विरोध गरेका छन्।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि बेलायत सरकार थप कठोर देखिएको छ। भाइरस संक्रमितले सेल्फ आइसोलेसन बस्नैपर्ने बाध्यकारी नियम उल्लंघन गरे सरकारले १० हजार पाउन्ड (करिब १५ लाख रुपैयाँ) सम्म जरिवाना तिराउने भएको हो।
चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल-चीन सम्बन्धको विकासलाई आफूले उच्च ध्यान दिएको भन्दै आपसी सम्बन्ध र विभिन्न क्षेत्रका व्यावहारिक सहयोगलाई थप विकास गर्ने जनाएका छन्। संविधान दिवसका अवसरमा आइतबार समकक्षी विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाउँदै उनले यस्तो विचार राखेका हुन्।
अमेरिकी सरकारले विच्याट र छोटा भिडियो सेयरिङ मोबाइल एप्स टिकटकलाई अमेरिकी एप्स स्टोरमा प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध भोलि आइतबारबाट लागू हुनेछ । प्रतिबन्धसँगै अब अमेरिकामा नयाँ प्रयोगकर्ताले विच्याट र टिकटक डाउनलोड गर्न सक्दैनन्।