कोरोना संक्रमणबाट नेपालमा सात जना पत्रकारको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट सात जना पत्रकारको मृत्यु भएको छ । नेपाल पत्रकार महासंघका अनुसार ५१३ जना पत्रकार कोरोना भाइरसबाट संक्रमण भएकोमा सात जनाको मृत्यु भएको हो । ४७० जना संक्रमण मुक्त भएका महासंघले जनाएको छ । महासंघले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण श्रमजीवी नेपाली पत्रकारहरुले ठुलो समस्या भोग्नु परेको जनाएको छ । कोरोना भाइरस संक्रमणको बाहानामा ठूला भनिएका सञ्चारगृहबाट नै पत्रकारलाई सेवाबाट बञ्चित गर्ने, नियमित सेवा सुविधा उपलब्ध नगराउने, बेतलबी बिदामा राख्ने जस्ता कार्यले श्रमजीवी पत्रकार तथा तिनमा आश्रीत परिवारले आर्थिक समस्या झेल्नुपरेको महासंघले जनाएको छ । यस्तै, संघीय सरकार र प्रदेश सरकारले सञ्चार सम्बन्धी कानुन निर्माण गर्दा सरोकारवालासँगको छलफल विना नै निर्माण भएका तथा सरकारले संसद समक्ष पु-याएका सार्वजनिक सेवा प्रसारण सम्वन्धी विद्येयक, सूचना प्रविधि विद्येयक, मिडिया काउन्सिल विद्येयकसहित संचार सम्बन्धी विभिन्न विधेयकमा प्रेस स्वतन्त्रता विरोधी धेरै दफाहरु ल्याएको उल्लेख गरिएको छ । नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा गरिएको अभिलेख अनुसार सन् २०२० जानवरी १ देखि २०२० डिसेम्वर ३१सम्मको यो एक बर्षको अवधिमा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटनाहरु अभिलेख गरिएको छ। गतवर्ष अर्थात सन् २०१९ मा प्रेस स्वतन्त्रता हननका ५० वटा घटना अभिलेख गरिएको थियो । यो एकवर्षको अवधिमा सबैभन्दा धेरै ३२ वटा घटना पत्रकारमाथि दुव्र्यवहार तथा धम्कीका रहेका छन्। त्यस्तै, ९ वटा घटना पत्रकारमाथि आक्रमणका छन् भने ५ वटा घटना पत्रकार गिरफ्तारीका छन्। यस्तै, ४ वटा घटना कब्जा तथा अवरोधका रहेका छन् भने २ वटा घटना पेशागत असुरक्षाका अभिलेख भएका छन् ।

सम्बन्धित सामग्री

कोरोना संक्रमणबाट १३ जना पत्रकारले ज्यान गुमाए

काठमाडौं। नेपाल पत्रकार महासंघले हालसम्म कोरोना भाइरस संक्रमणका कारण देशभर १३ जना पत्रकारको मृत्यु भएको जनाएको छ। हिजो मात्र नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको मृत्यु भएको थियो।हालसम्म नेपालमा ७ सय ५० जना भन्दा बढी पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको महासंघले बताएको छ। पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेकोमा महासंघले चिन्ता व्यक्त गरेको छ।

कोरोनाबाट हालसम्म नेपालमा ७ पत्रकारको मृत्यु, ५ सय ५० संक्रमित

नेपालमा हालसम्म कोरोनाबाट ७ जना पत्रकारको मृत्यु भएको नेपाल पत्रकार महासंघले जनाएको छ । यस्तै,५ सय ५० जना पत्रकारलाई कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने २ जना आईसीयूमा उपचाररत रहेको महासंघले जनाएको छ ।