कोरोना महामारी र नेपाली पर्यटन

विश्वमा औपचारिक रूपमा पर्यटन व्यवसाय सुरु भएको इतिहास हेर्दा लगभग १८१/८२ वर्षको भइसकेको छ । विश्वमा पर्यटन व्यवसाय औपचारिक रूपमा सुरु भएको सन् १८४१ मा हो । सो वर्ष बेलायती नागरिक थोमस कुकले व्यवस्थित र संगठित रूपले भ्रमण व्यवसाय सुरु गरेका थिए । सुरुमा उनले निश्चित रकम लिएर आफ्नै देशका भ्रमणप्रेमी नागरिकहरूलाई देशभित्रै घुमाउन सुरु […]

सम्बन्धित सामग्री

५ महीनामा पर्यटकको संख्या बढ्यो तर आम्दानी ?

यो वर्ष (सन् २०२३) को ५ महीनामा ४ लाख ४ हजार २३१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । तथ्यांकअनुसार जनवरी महीनामा ५५ हजार ७४ जना, फेब्रुअरी महीनामा ७३ हजार २५५ जना, मार्च महीनामा ९९ हजार ४२६ जना, अप्रिल महीनामा ९८ हजार ७७३ जना र मे महीनामा ७७ हजार ७०३ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरिसकेका छन् । सन् २०२२ को ६ महीनामा २ लाख ३७ हजार चानचुन विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए । यसरी सन् २०२२ को ६ महीना र सन् २०२३ को ५ महीनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या तुलना गर्दा सन् लगभग ४५ प्रतिशतले बढी देखिन्छ । त्यसैले यो वर्ष यही गतिमा विदेशी पर्यटकको आगमन भएमा नेपालमा कम्तीमा ९ लाख ५०–६० हजारदेखि १० लाख १०–१५ हजारसम्म संख्या पुग्ने सम्भावना देखिन्छ । सन् २०२२ को ६ महीनामा विदेशी पर्यटकबाट २५ अर्ब ५२ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आम्दानी भएको थियो । सन् २०२३ मा चाहिँ ५ महीनाको अवधिमा उनीहरूले कति रकम खर्च गरे भन्ने सम्बन्धमा तथ्यांक बाहिर आइसकेको छैन ।  आर्थिक वर्ष २०७७–०७८ (सन् २०२१) को सोही अवधिमा पर्यटन क्षेत्रबाट केवल ६ अर्ब ६९ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आम्दानी भएको थियो । सन् २०१९ को डिसेम्बर अन्तिम ताका छिमेकी देश चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट फैलिएर बिस्तारै विश्वव्यापी रूप लिएको कोभिड–१९ को महामारीका कारण त्यस बेला नेपालको पर्यटन उद्योग मात्रै नभएर विश्वकै पर्यटन उद्योगले अनपेक्षित रूपमा धक्का खानु परेको थियो । तर, अहिले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ‘कोरोना फ्री’ भनी घोषणा गरिसकेकाले विश्व पर्यटन गतिविधिले तीव्रता लिइरहेको छ ।  हुन त नेपालको पर्यटनको इतिहासलाई हेर्ने हो भने नेपाल सरकारले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको आधिकारिक रूपमा तथ्यांक राख्न थालेको सन् १९६३ देखि मात्रै हो । त्यस यताको लगभग ६० वर्षपछि अर्थात् सन् २०२३ मा फेरि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ, जुन धेरै राम्रो हो ।  नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको यही संख्याको गतिलाई हेरेर नै होला, नेपाल सरकारले सन् २०१८ मा नेपाल भ्रमण वर्ष मनाउने भनी घोषणा गरेको थियो । तर सन् २०१८ मा विविध कारणले गर्दा नेपाल भ्रमण वर्ष मनाउन नसकेपछि फेरि सन् २०२० मा एकै वर्षमा २० लाख विदेशी पर्यटक भित्त्याउने महात्त्वाकांक्षी योजनासहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउने घोषणा र तयारी गरियो । तर, कोभिड–१९ ले महामारीको रूप लिएकाले नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई स्थगित गर्‍यो । सबै तयारी पूरा गर्दै केही कार्यक्रम लागू गरिसकेको र उद्घाटनसमेत भइसकेको भए तापनि यसलाई स्थगित गर्नु परेको थियो । त्यस्तै त्यस बेला नै विश्वको पर्यटन र पर्यटन उद्योगका विज्ञहरूले अब विश्व पर्यटनमा सुधार आउनका लागि कम्तीमा पनि सन् २०२४/२६ सम्म लाग्ने अनुमान गरेका थिए । त्यो पनि सन् २०२१/२२ मा नोभेल कोरोनाभाइरस ठीक भएमा अथवा हराएर गएमा । महामारी रोगका विज्ञहरूले अनुमान गरेभन्दा लगभग १ वर्ष बढी समय लागेको छ, कोरोना महामारी रोकिन वा भनौं कम हुन । त्यो पनि पूर्ण रूपमा बन्द भएको देखिएको छैन । आगामी दिनमा नेपालमा पनि जति सक्दो धेरै भन्दा धेरै चिनियाँ पर्यटक भित्त्याउने प्रयासमा लाग्नुपर्ने देखिन्छ । यसो गर्न सकिएमा नेपाली पर्यटन उद्योगको छिट्टै प्रगति हुने छ । अरू देशका पर्यटकका बारेमा यसै भन्न नसकिए तापनि चिनियाँ पर्यटक साह्रै ‘मक्खिचुस’ भने होइनन् । किनभने, विगत केही वर्षदेखि संयुक्त राष्ट्रसंघ सम्बद्ध संस्था यूएन–डब्ल्यूटीओलगायत विश्व पर्यटनसँग सम्बद्ध विभिन्न संघसंस्थाले अध्ययन–अनुसन्धान गरेर निकालेको तथ्यांकमा चिनियाँ पर्यटक लगातार रूपमा विश्वकै धेरै खर्च गर्ने पर्यटकमा दरिएका थिए, छन् । साथै चिनियाँ पर्यटक संख्याको आधारमा पनि विश्वकै धेरै संख्यामा विश्व भ्रमणमा निक्लने पहिलो स्थान ओगट्ने पर्यटकका रूपमा दरिएका छन्, दरिने गरेका छन् । अहिले चिनियाँहरूकै सहयोगमा पोखरामा ड्रागन बोट प्रतियोगिता आयोजना गरियो । यसमा भाग लिने चिनियाँहरू विमान चार्टर गरेर पोखरामै ओर्लिए । यसले आगामी दिनमा चिनियाँ पर्यटक यसरी नै पोखरा आउने सम्भावना बढेको छ ।  विगतमा भारतीयपछि दोस्रो बढी संख्या चिनियाँ पर्यटकको थियो । अहिले त्यस्तो छैन तैपनि अब चिनियाँ पर्यटक बढ्दै जाने आशा गर्न सकिन्छ । उनीहरूका लागि पोखरा सबैभन्दा आकर्षक नेपालको पर्यटकीय गन्तव्य हो । त्यसैले उनीहरू पोखरामा आउन लालायित नै देखिन्छन् । त्यहाँ बनाइएका विभिन्न पर्यटकीय पूर्वाधारले पनि चिनियाँ पर्यटकलाई लोभ्याएको देखिन्छ । अहिले विमान चार्टर गरेर आएकाले नेपाली व्यवसायीले यसरी चार्टर्ड उडानबाट चिनियाँ पर्यटक नेपाल ल्याउन पहल गर्नुपर्छ । यसो गर्न सके नेपालको पर्यटन पूर्णरूपमा पुनरुत्थान हुने देखिन्छ । तर, उनीहरूले गर्ने खर्च भने यहाँ सञ्चालन हुने गतिविधिमा निर्भर हुने देखिन्छ ।  लेखक पर्यटनकर्मी हुन् ।

पदयात्रामा पर्यटक गाइड अनिवार्य नीति लागू होला?

हालसालै आएको विभिन्न समाचारअनुसार  १ अप्रिल, सन् २०२३ देखि लागू हुने गरी नेपाल भ्रमणमा आउने कुनै पनि विदेशी पर्यटकहरू आफूखुशी पदयात्रा अर्थात् ट्रेकिङ गर्न जान पाउनेछैनन् । कम्तीमा विदेशी पदयात्रीका साथमा एक जना ट्रेकिङ गाइड अनिवार्य रूपमा रहनेछन् । अलि खर्चिलो र पैसा खर्च गर्नमा ‘मक्खिचुस’ नभएका पदयात्रीहरूले भने आफ्नो साथमा भरिया पनि लैजान सक्नेछन् । यस्तो व्यवस्थाले नेपाली पर्यटन क्षेत्रमा रोजगारी बढ्ने पक्का छ । खास गरी ट्रेकिङ गाइडको तालीम लिएर पनि भारी बोक्नसमेत नपाउने स्थितिमा रहेका ट्रेकिङ गाइड साथीहरूको मुहारमा पक्कै चमक आउनेछ । गाइड उत्पादन (ट्रेकिङ र टुर गाइड दुवैमा) मा हालसम्म राज्यको १ पैसा पनि लगानी परेको छैन । पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०१९ मा मात्रै फ्री इन्डिभिज्युअल ट्रेकर (एफआईटी) का रूपमा ४६ हजारभन्दा बढी पर्यटक नेपालका विभिन्न स्थानमा आफूखुशी एक्लै पदयात्रा गर्न निक्लिएका थिए । सन् २०१९ को अन्त्यतिर चीनबाट शुरू भएको कोरोना महामारीपछि सन् २०२० र २०२१ मा यस्तो संख्या लगभग शून्य नै रहेको थियो । तर, २ वर्षको शून्यतापछि पुन: बढ्दै गएको विदेशी पर्यटकको आगमन दरसँगै यस्ता पर्यटकको संख्या पनि बढ्न थालेको छ । सन् २०१९ मा नेपालमा एफआईटीका रूपमा गएका विदेशी पदयात्रीका तुलनामा सन् २०२२ मा लगभग ५७ प्रतिशतले घटेर १९ हजार चानचुन यस्ता विदेशी पर्यटक नेपाल आएको एनटीबीको पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ । नेपाली पदयात्रा क्षेत्रका गाइडहरूलाई सेवासुविधा पनि उपलब्ध छैन । ९० प्रतिशतभन्दा बढी गाइड ज्याला मजदूरजस्ता छन् । यति मात्र नभएर भइपरी आउने आकस्मिक उद्धारमा पनि नेपालका ट्रेकिङ गाइडहरू चुक्ने गरेका छन् । एक उदाहरण लगभग २ वर्षअघिको कोरोना महामारी (कोभिड–१९) काललाई सम्झौं । जब नेपालमा नोभेल कोरोना भाइरस (कोभिड–१९) को पहिलो लहर चल्दै थियो, नेपालको पूर्वी क्षेत्रको ताप्लेजुुङको कञ्चनजंघा क्षेत्र, संखुवासभा जिल्लाको मकालु, सोलुखुम्बु जिल्लाको लुक्ला, नाम्चे, दोलखा जिल्लाको गौरीशंकर, सिन्धुपाल्चोक जिल्लाको हेलम्बु, रसुवा जिल्लाको गोसाइँकुण्ड, लाङटाङ त्यस्तै नुवाकोट–धादिङ–रसुवा जिल्लाभित्र पर्ने गणेश हिमाल क्षेत्र, गोरखाको चुम भ्याली, मनास्लु, मनाङ जिल्लाको नार–फु, थोराङपास, मुस्ताङ जिल्लाको माथिल्लो मुस्ताङ क्षेत्र, मुक्तिनाथ, जोमसोम, धवलागिरि, डोल्पा जिल्लाको पनि अझ माथिल्लो डोल्पाको शे गुम्बा, धो, तराप, तिनजे/तिल्जे, हुम्ला जिल्लाको सिमकोट, लिमी, दार्चुला जिल्लाको व्यास आदि सुदूरपश्चिमसम्मका पर्यटकीय क्षेत्रमा विदेशी पर्यटक भ्रमण गर्दै थिए । उनीहरूका साथमा गाइड र भरियाहरू पनि रहेका थिए । त्यो बेला सरकारले ‘लकडाउन’को नीति अपनायो । सरकारको उक्त निर्णयले हिमाली क्षेत्रका पर्यटकीय क्षेत्रमा बाँकी रहेका विदेशी पर्यटक फर्कनलाई असर पर्‍यो । अझ विदेशी पर्यटकका साथमा रहेका गाइड र भरियाहरूलाई त झन् धेरै असर पर्‍यो । किनभने, ती क्षेत्रमा बाँकी रहेका विदेशी पर्यटकलाई नेपाल सरकार र सम्बद्ध देशले जसोतसो उद्घार गरे । विदेशी पर्यटकका साथमा रहेका नेपाली गाइड र भरियाहरूलाई भने तत्कालका लागि के–कसो गर्ने भनेर कुनै प्रभावकारी निर्णय भएन । फलत: त्यो बेला प्राय: सबै नेपाली गाइड र भरियाहरूको उद्धारमा ढिलाइ भयो । कतिपय नेपाली गाइड र भरियाहरू आआफैले व्यवस्था गरेर पनि आफ्नो गन्तव्यस्थलतर्फ फर्के । तर, लगभग ३१ हजार विदेशी पर्यटकलाई भने नेपालको विभिन्न क्षेत्रबाट उद्धार गरी उनीहरूको देश फिर्ता गरिएको थियो । नेपाली गाइड र भरियाहरूलाई चाहिँ बेवारिसे अवस्थामा छाडियो । त्यसो त विदेशी पर्यटकलाई गाइड गर्ने गाइडहरूले आफ्नो मातृभाषा र राष्ट्रभाषाबाहेक कम्तीमा १ वा २ देखि ३, ४ ओटा अन्य (विदेशी भाषा) भाषासमेत जानेको हुन्छ भने जुनसुकै देशका गाइडहरूले आफ्नो देशमा घुम्न आएका विदेशी पर्यटकहरूलाई आफ्नो देशको समग्र स्थिति, आफ्नो देशको इतिहास, आफ्नो देशको ऐतिहासिक पृष्ठभूमि, आफ्नो देशको विभिन्न कालखण्डका शासक वा तिनका वंशहरू, आफ्नो देशको वर्तमान राजनीतिक व्यवस्था, यहाँका जातजाति, यहाँका अमूर्त सम्पदा, प्राकृतिक सम्पदा, भाषाभाषी, धर्म, संस्कार, संस्कृति, चाडबाड, उत्सव, महोत्सव, रीतिथिति, भूगोल, हिमाल, हिमताल, हिमनदी, वातावरण, वन्यजन्तु, चराचुरुङ्गी, वनस्पति, झारपात, लेउ आदिका बारेमा तथ्यपरक, सही र वास्तविक सूचना दिएर आफ्नो देशको नाम उँचो राख्ने गर्छन् । यसरी हेर्दा नेपालमा घुम्न आएका विदेशी पर्यटकलाई आफ्नो देशको सही र तथ्यपरक जानकारी दिने प्रथम व्यक्ति नै गाइडहरू हुन्छन् । भनाइ नै छ, ‘गाइडहरूले कहिल्यै पनि गलत सूचना दिनु हुँदैन, नेपाल घुम्न आउने विदेशी पर्यटकलाई ।’ हो, त्यही कारण पनि कुनै पनि गाइडले विदेशी पर्यटकलाई आफ्नो देशका बारेमा सही र सत्यतथ्य सूचना प्रवाह गर्नुपर्ने प्रथम दायित्व हुनुपर्छ । त्यसैले विश्वका सबै देशका सरकारले पर्यटक गाइडहरूलाई आफ्नो देशको ‘अवैतनिक राजूदत’का रूपमा मान्यता दिएको छ । गाइड उत्पादन (ट्रेकिङ र टुर गाइड दुवैमा) मा हालसम्म राज्यको एक पैसा पनि लगानी परेको छैन । उल्टै (ट्रेकिङ र टुर गाइड दुवै तालीममा) तालिम गर्दा ताका गाइड तालिम गर्न/लिन चाहने व्यक्तिले राजस्व तिरेको हुन्छ भने उनीहरू गाइड गर्न गएपिच्छे आफ्नो तलबबाट निश्चित प्रतिशत राज्यलाई आय करसमेत तिरेको हुन्छ । यसरी राज्यको एक पैसाविना उल्टै राज्यलाई फाइदा गराउने गाइडहरू खास गरी ट्रेकिङ गाइडहरूको महत्व नै नबुझेको देखिन्छ । यस्तोमा अहिले विनागाइड पदयात्रा जान नपाउने नीति ल्याइएको छ । यसको कार्यान्वयन हुन्छ कि हुँदैन भन्न सकिन्न किनकि यस्तै खाले थुप्रै प्रावधानहरू लागू भएका छैनन् । यो नीति लागू भएमा पर्यटन गाइडहरूले रोजगारी पाउने भने निश्चित छ । लेखक पर्यटनकर्मी हुन् ।

याक एण्ड यतीको संकट : पाँचतारे ताजविहीन सुनसान लालदरबार

नेपाली पर्यटन उद्योगमा ताल्चा खोलेको याक एण्ड यती होटल अहिले आफैं ताल्चा लगाएर बस्नुपर्ने बाध्यतामा पुगेको छ ।