चाडपर्व नजिकिँदै गए पनि सरकारी अनुदानको चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी खरिदका लागि दुई महिनाअघि अर्थ मन्त्रालयसँग स्वीकृति माग गरेको भए पनि स्वीकृति नदिएपछि चिनी खरिद अगाडि बढ्न नसकेको हो । वाणिज्य मन्त्रालयका सहायक प्रवक्ता उर्मिला केसीले अर्थ मन्त्रालयले चिनी आयातका लागि स्वीकृत नदिँदा प्रक्रिया अगाडि बढाउन नसकेको जानकारी दिनुभयो । भन्सार छुटमा चिनी आयात गर्नका लागि सहमति दिनका लागि अर्थ मन्त्रालयमा दुई महिनाअघि प्रस्ताव पेस गरेको भन्दै उहाँले भन्नुभयो, “यो वर्ष चिनी उत्पादन कम भएको र समयमा आयात नहुँदा चाडपर्वमा अभाव भई महँगो हुन सक्ने देखिएको छ ।”