साझा बसले उपत्यकामा सञ्चालन गर्न ल्याएको विद्युतीय बस सरकारी अकर्मण्यताका कारण चल्न सकेको छैन । लुम्बिनीमा सहयोगस्वरूप प्राप्त विद्युतीय बस र साना सवारीसाधन त्यत्तिकै थन्किएको वर्षौं भइसक्यो । तिनको ब्याट्री बिग्रिएर र अन्य पार्टपुर्जामा खिया लागेर काम नलाग्ने अवस्थामा पुग्न लागिसकेको छ ।
यी बस सञ्चालन गर्न कुनै प्राविधिक कमजोरी छैन । सरकारले सामान्य कानूनी प्रक्रियामा अल्झाएर बस सञ्चालन गर्न दिएको छैन । जनताले तिरेको करबाट कानून बनाउन चुनिएका सांसदहरूले कानूनको सामान्य प्रावधान नमिलाइदिँदा यसरी करोडौं मूल्यका साधन कबाडी बन्दै गएकामा कुनै पनि सांसदलाई चिन्ता छैन । जनतासँग ठूलाठूला वाचा गर्ने, मोनोरेल र मेट्रोको सपना देखाउने तर कामचाहिँ कानूनको एउटा प्रावधान पनि फेर्न नसक्ने ? यो त हदैसम्मको गैरजिम्मेवारी हो, देश र जनताप्रति यो अपराध नै हो भन्न सकिन्छ ।
कानून बनाउने ठाउँमा गएर भत्ता बुझ्ने तर कानून नबनाउने, सत्ता समीकरण फेर्न रातारात बैठक बस्न सक्ने तर करोडौंको लगानी खेर जाँदाचाहिँ कत्ति पनि चिन्ता नहुने । यस्ता पनि जनप्रतिनिधि हुन्छन् ? यसो हुनुमा दलीय राजनीति नै कारण हो । दलबाट संगठित रूपमा जनताको पक्षमा काम हुन्छ भन्ने विश्वास गरिन्छ । तर, यहाँ दलबाट जितेपछि नेताकै चाकडी गर्ने र जनता झुक्याउने काम मात्रै भइरहेको छ ।
वास्तवमा यस्ता जनप्रतिनिधिलाई जनताले ठाउँको ठाउँ कारबाही गर्न सक्नुपर्छ । सत्ताका आडमा जनतालाई दमन गर्ने अनि ५ वर्षमा एकचोटि जनता फकाउने प्रवृत्तिकै कारण अहिले जनतामा राजनीतिक दलप्रति चरम वितृष्णा बढेको छ । पुराना राजनीतिक दलप्रति आक्रोश नै नयाँ राजनीतिक दलको उदय हो । पुराना दलको अत्याचार देखेर नै अहिले नयाँ दलका नेताले गल्ती गरे पनि जनताले त्यसको ढाकछोप गरेका हुन् । पुराना दलले आफूलाई सच्याउनुको सट्टा नयाँ दललाई तिमीहरू पनि उस्तै त हौ नि भनेर प्रमाणित गर्न ज्यान दिएर लागिपरेका छन् ।
सांसदको काम नै ऐनकानून बनाउने हो । जुन कुराले विकासमा अवरोध पुगेको छ त्यसमा संशोधन गर्ने हो । तर, कैयौं संशोधन विधेयक संसद्मा अड्किएका छन् । तिनलाई सटासट पास गर्नभन्दा एकअर्काको कुरा काट्नमा नै पुराना दलहरू रमाएका छन् । नयाँमा बरु केही चेतना देखिएको छ । बहस गर्दा पनि धेरैजसो बुँदामा अडेर अध्ययन गरेर नै गर्ने गरेका छन् । पुराना दलमा त त्यति गुण पनि पाइँदैन । मुलुक हामीले चलाउने हो । त्यसैले हामीले जे गरे पनि हुन्छ भन्ने सोच पाइन्छ ।
उमेश धिताल
नैकाप, काठमाडौं ।