विकासशील मुलुकको सूची (सम्पादकीय)

बाहिरबाट झट्ट हेर्दा संयुक्त राष्ट्रसङ्घले निर्धारण गरेको अतिकम विकसित मुलुकको सूचीबाट कुनै पनि देश विकासशील मुलुकमा स्तरोन्नति हुनु सकारात्मक प्रगति हो । यसले देशले गरेको आर्थिक प्रगतिको सोझो जानकारी दिन्छ तर यस्तो सूचीमा पर्नुको अर्थ उक्त देशमा आर्थिक चुनौती नै छैनन् भन्ने हुँदैन । नेपालले सन् २०२२ सम्ममा अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने घोषणा गरेको छ । यसअघि नेपालले सन् २०१८ मै स्तरोन्नतिका लागि आवश्यक मापदण्ड पूरा गरेको भए पनि संयुक्त राष्ट्रसङ्घलाई पत्र लेख्दै स्तरोन्नति नगर्न आग्रह गरेको थियो । संयुक्त राष्ट्रसङ्घीय विकास नीति समिति (कमिटी फर डेभलपमेन्ट) ले अझै नेपालसामु आर्थिक तथा राजनीतिक चुनौती कायमै रहेको भन्दै तत्काल स्तरोन्नतिका लागि सिफारिस नगर्ने निर्णय गरेको थियो । अति कम विकसित तथा भुपरिवेष्टित राष्ट्रका लागि राष्ट्रसङ्घीय उच्चस्तरीय प्रतिनिधि संस्थाले विभिन्नि सूचकाङ्कका आधारमा प्रत्येक तीन वर्षमा सूचीमा हेरफेर गर्दछ ।